एकपटक फेरी क्रान्ति गर्ने प्रचण्डको रहर

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै देशमा ठूलो राजनीतिक क्रान्ति गर्ने दाबी गरे। उनले नयाँ क्रान्ति शुरू गर्न लागेको भन्दै सबै नेता/ कार्यकर्तालाई तयार हुन आग्रह समेत गरे। १० वर्ष हिंसात्मक विद्रोह गरेका उनले अबको क्रान्ति शान्तिपूर्ण हुने बताए।
बिहीबार मजदुर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्ना मुद्दाहरूमा फेरि एकपटक शान्तिपूर्ण क्रान्ति गर्न लागेको र सरकारबाट दमन भए दुनियाँको कुनै तागतले रोक्न नसक्ने चेतावनी दिए।
‘तपाईंहरू राम्रो तयारीमा बस्नुहोस्। हामी छिट्टै अब ठूलो आन्दोलनमार्फत देशमा एउटा नयाँ राजनीतिक क्रान्तिको तयारी गर्नैपर्छ। एकचोटी क्रान्ति गर्नेछौँ,’ उनले थपे, ‘त्यो क्रान्ति शान्तिपूर्ण हुन्छ। तर राज्य र सरकारमा भएकाहरूले बल प्रयोग गर्ने गल्ती गरे भने जनताको विद्रोहको अधिकारलाई दुनियाँको कुनै तागतले रोक्न सकेको छैन। नेपालमा पनि सक्दैन।’
उनले श्रमिक वर्ग इतिहासको निर्माता र समाज विकासको प्रणेता भएको उल्लेख गरे। प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता २०५२ सालमा माओवादी नेतृत्वमा भएको 'जनयुद्ध' रहेको दाबी गरे।
उनले ठेकेदारी प्रथा, आउटसोर्सिङ र न्यून ज्यालाजस्ता श्रमिक विरोधी प्रवृत्ति नियन्त्रण गर्न नसकिएको प्रति चिन्ता व्यक्त गरे।
वैशाख १८, २०८२ बिहीबार १६:४२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।