पर्खाल रंग्याएर नारी सशक्तीकरणको कथा बुन्नेहरू

काठमाडौं : मिथिला पोशाकमा सजिएका महिलाहरू पर्खालमा विभिन्न चित्रहरू कोरिरहेका छन्। कोही उभिएर ब्रस चलाइरहेका छन् भने कोही भुइँमा बसेर चित्र रंग्याइरहेका छन्। यो दृश्य काठमाडौंको विशालनगरको हो।
चित्रहरूमा महिलाहरूको काम, जनजीवन र मिथिला संस्कृतिका विविध पक्षहरू झल्किएका छन्- महिलाहरूले खेत जोतिरहेका छन्, कम्प्युटर चलाइरहेका छन्, जेसीबी चलाइरहेका छन्। स्वीस एम्बेसीको सहयोगमा उनीहरूले पर्खालहरूमा मिथिला कलाको रंग छर्दैछन्। आज अन्तर्राष्ट्रिय मजदुर दिवसको दिनपनि यी महिलाहरूका ब्रस रोकिएका छैनन्।
तीन दशकभन्दा बढी समयदेखि मिथिला पेन्टिङमा सक्रिय रहेकी कलाकार मिथिला मण्डलले महिला पनि पुरुष सरह सबै काम गर्न सक्षम छन् भन्ने सन्देश चित्र मार्फत दिन खोजेको बताइन्। ‘म ३०-३२ वर्षदेखि यो काम गर्दै आइरहेको छु। अब कम्प्युटर चलाउने देखि सबै काम गर्न सक्छ भन्ने कुरा पेन्टिङमार्फत उतार्ने प्रत्यत्न गरेको छु। पुरुष जस्तै महिलाले पनि काम गर्न सक्छ भन्ने देखाउँछौं,’ उनले भनिन्।
उनीहरू जनकपुर नारी विकास केन्द्रबाट आएका हुन्, जसले मिथिला पेन्टिङलाई नारी सशक्तीकरणको सशक्त माध्यम बनाएका छन्।
उनीहरू श्रमलाई कलामा रूपान्तरण गर्दै मिथिला संस्कृतिको प्रतिनिधित्व मात्रै होइन, महिलाको क्षमताको पनि चित्रण गरिरहेका छन्। ‘पेन्टिङ मिथिलाको सम्पत्ति हो । मिथिलाको मात्र होइन पूरै नेपालको धरोहर सम्पत्ति पनि हो । काठमाडौंमा पहिला पनि धेरै पेन्टिङ गरेको थियौं,’ महिला कलाकार पारो दासले भनिन्।
जनकपुर नारी विकास केन्द्रसँग आबद्ध ३२ जना महिला कलाकारहरू विभिन्न स्थानमा मिथिला पेन्टिङमार्फत नारी सशक्तीकरण, संस्कृति संरक्षण र सामाजिक सन्देश फैलाउने काममा जुटिरहेका छन्। अहिले विशालनगरको यो पर्खाल उनीहरूको कथा बोल्ने क्यानभास बन्न पुगेको छ।
वैशाख १८, २०८२ बिहीबार १५:५७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।