श्रमको अनुहार : पौरखी हातहरूको पोट्रेट कथा

श्रमको अनुहार : पौरखी हातहरूको पोट्रेट कथा

काठमाडौं : श्रमिकको हातले सधैं आफ्नै लागि सपना देख्दैन, तर अरूको सपना साकार पार्न निरन्तर चलायमान हुन्छ। पसिनाले चिप्लिएको, धुलो-हिलो लागेको मैलो र चिरा परेको ती हातहरूले घर ठड्याउँछन्, मन्दिर बनाउँछन्, सडक खन्छन्, खेत जोत्न जान्दछन्, फलाम पिट्छन्, गाडी कुदाउँछन् अनि पिठ्युँको भारी समाउने नाम्लो पनि सम्हाल्छन्।

हिमाल, पहाड होस् या तराई- ती पसिनाले निथ्रुक्क भएका पौरखी हातका औंलामा सपना पूरा गर्ने बल हुन्छ। आज औजारसँग खेलिरहेका यी हातहरू अभाव चिरेर परिवारको भविष्य निर्माण गरिरहेका छन्। ती हातहरूमा राष्ट्र निर्माणको कथा कोरिएको हुन्छ। त्यसैले श्रम र श्रमिकको सधैं सम्मान हुनुपर्छ।

सीपसँगै सपनाको भार बोकिरहेका ती पौरखी हातहरूको कथा कहिल्यै गाथा बन्दैन। न त उनीहरूले पहुँचको आधारमा संरक्षण खोज्छन्, न त नेताहरूका चिप्ला भाषणहरूमा रमाउँछन्। श्रमिकका हातहरू सम्मानको अपेक्षाभन्दा अघि श्रमको अवसर खोजिरहेका हुन्छन्।

‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन, र आठ घन्टा आराम’ भन्ने नारासहित १८८६ को मे १ मा अमेरिकाको शिकागोबाट सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभरि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ।

नेपालमा भने २००७ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा मे १ लाई सार्वजनिक बिदा दिइने गरिएको छ।

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा, आफू सधैँ पृष्ठभूमिमै रहेर अरुलाई सहजीकरण गरिरहेका श्रम गर्ने ती पौरखी श्रमिकका हातहरूको पाेट्रेट फोटो कथा प्रस्तुत गरिएको छ।

वैशाख १८, २०८२ बिहीबार ११:०९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।