पाकिस्तानी विमानका लागि भारतीय एयरस्पेश बन्द

पाकिस्तानी विमानका लागि भारतीय एयरस्पेश बन्द

एजेन्सी : जम्मु-कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत-पाकिस्तान सम्बन्धमा चिसोपना बढिरहेका बेला भारतले पाकिस्तानी विमानका लागि आफ्नो हवाई क्षेत्र (एयर स्पेश) बन्द गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, भारतीय नागरिक उड्डयन प्राधिकरणले बुधबार साँझ जारी गरेको नोटाम मार्फत मे १ देखि २३ सम्मका लागि प्रतिबन्ध लागू गरिएको हो।

नोटाम एक प्रकारको औपचारिक सूचना हो, जसमा नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्र, विमानस्थल, नेभिगेसन प्रणाली, वा उडान सुरक्षासँग सम्बन्धित कुनै अस्थायी परिवर्तन, प्रतिबन्ध, जोखिम वा कार्यहरू बारे पाइलटहरू, एयरलाइन्स र एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराउने गरिन्छ।

यस अन्तर्गत पाकिस्तानमा दर्ता भएका, त्यहाँका एयरलाइन्स तथा अपरेटरद्वारा सञ्चालित, स्वामित्वमा रहेका वा भाडामा लिइएका सबै विमानहरूलाई भारतीय हवाई क्षेत्र प्रयोग गर्न दिइनेछैन।

प्रतिबन्ध पाकिस्तानका सैन्य विमानहरूमा पनि लागू हुने जनाइएको छ। भारत र पाकिस्तानबीच अहिले कुनै सिधा उडान सेवा छैन। तर, पाकिस्तानी एयरलाइन्सहरूले सिंगापुर, मलेसिया र अन्य पूर्वी एसियाली मुलुकतर्फका उडानका लागि भारतीय हवाई क्षेत्रको प्रयोग गर्दै आएका थिए।

अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको भोलिपल्ट, भारतले पाकिस्तानविरुद्ध कडा कूटनीतिक कदम चालेको थियो। भारतले सिन्धु जल सन्धि ‘निलम्बन’ गर्ने, अटारी सीमा नाका बन्द गर्ने तथा कूटनीतिक सम्बन्ध कटौती गर्ने निर्णय लिएको थियो।

प्रतिक्रिया स्वरूप, पाकिस्तानले पनि भारतीय विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो भने तेस्रो देशहरू मार्फत भइरहेको भारतसँगको सम्पूर्ण व्यापारसमेत निलम्बन गरेको थियो।

सिन्धु जल सन्धिको सन्दर्भमा पाकिस्तानले चेतावनी दिँदै भनेको छ, ‘यदि भारतले पानी रोक्ने वा मोड्ने प्रयास गर्यो भने त्यसलाई युद्धको घोषणा ठानिनेछ।’

वैशाख १८, २०८२ बिहीबार ०९:४३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।