आईपीएलको प्लेअफ होडबाट बाहिरियो चेन्नई

आईपीएलको प्लेअफ होडबाट बाहिरियो चेन्नई

काठमाडौं : चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को प्लेअफ दौडबाट बाहिरिएको छ। बुधबार पञ्जाब किङ्ससँग ४ विकेटले पराजित भएपछि चेन्नई ४ खेल अगावै प्रतियोगिताबाट लगभग बाहिरिएको हो।

यो सिजन चेन्नईका लागि निराशाजनक रह्यो। पञ्जाबसँगको हारपछि उसले १० खेलमा आठौं हार बेहोर्यो। पञ्जाबले भने छैटौं जित निकाल्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

चेन्नईले दिएको १९१ रनको लक्ष्य पञ्जाबले १९.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। कप्तान श्रेयस अय्यरले सर्वाधिक ७२ रन बनाएर जितको आधार तयार गरे। ओपनर प्रभसिमरन सिंहले ५४ रन, प्रियान्श आर्या र शशांक सिंहले समान २३ रन बनाए।

चेन्नईका बलरमध्ये मथिसा पथिराना र खलील अहमदले २-२ विकेट लिँदा नूर अहमद र रविन्द्र जडेजाले १-१ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ थालेको चेन्नईले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १९० रन बनायो। कुनै समय २०० रन नजिक देखिएको चेन्नई अन्त्यतिर लगातार विकेट गुमाउँदा ४ बल अगावै अलआउट भयो।

साम करानले सर्वाधिक ८८ रनको योगदान दिए भने डेवाल्ड ब्रेभिसले ३२, रविन्द्र जडेजाले १७ रन बनाए। १८औं ओभरमा करान आउट भएपछि क्रिजमा आएका एमएस धोनीले एक चौका र एक छक्का प्रहार गरे तर चहलको बलमा क्याचआउट भए।

त्यसपछि चहलले लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। उनले ४ ओभरमा २९ रन दिँदै ४ विकेट लिए। अर्शदीप सिंह र मार्को यानसेनले २-२ तथा हरप्रीत ब्रार र अजमतुल्लाह ओमरजाइले १-१ विकेट लिए।

जितसँगै पञ्जाब १० खेलमा १३ अंकसहित दोस्रो स्थानमा पुगेको छ। चेन्नई भने १० खेलमा ४ अंक मात्र जोड्दै अंकतालिकाको पुछारमा रहेको छ।

वैशाख १८, २०८२ बिहीबार ०८:३६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।