लामो वार्तापछि अमेरिका र युक्रेनबीच खनिज सम्झौता, ट्रम्पले भने- ‘हामीलाई बढी फाइदा छ’

लामो वार्तापछि अमेरिका र युक्रेनबीच खनिज सम्झौता, ट्रम्पले भने- ‘हामीलाई बढी फाइदा छ’

एजेन्सी : लामो वार्ता र रस्साकस्सीपछि संयुक्त राज्य अमेरिका र युक्रेनबीच खनिज सम्झौता भएको छ।

अमेरिकी अर्थ विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दुवै देशले ‘पुनर्निर्माण लगानी कोष’ सिर्जना गर्न सहमत भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ‘अमेरिकालाई बढी फाइदा’ पुर्याउने बताएका छन्।

उनले भने, ‘बाइडेनले युक्रेनलाई ३५० अर्ब डलर दिए। अब हामीले एउटा सम्झौता गरेका छौं, जसले हामीलाई त्योभन्दा बढी पैसा दिनेछ।’

बुधबार अमेरिकी अर्थमन्त्री स्कट बेसान्ट र युक्रेनका उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।

अमेरिकी ट्रेजरी विभागले जारी गरेको विज्ञप्ति अनुसार, सम्झौता अन्तर्गत दुई देशहरूले ‘पारस्परिक सम्पत्ति, प्रतिभा र क्षमताहरू’ ले किभको पुनर्निर्माणलाई गति दिनसक्छ भनी सुनिश्चित गर्न सहकार्य गर्नेछन्।

युक्रेनको दुर्लभ खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गर्न किभ र वासिङ्टनले महिनौंदेखि सम्झौताको लागि वार्ता गरिरहेका छन्।

वैशाख १८, २०८२ बिहीबार ०७:५०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।