आरआर स्ववीयुमा सर्वसम्मतको नाममा कलेज प्रशासनले ‘कु’ गरेको आरोप, नेविसंघ अदालत जाने तयारीमा

काठमाडौँ : आरआर कलेजको स्ववियु निर्वाचनमा सर्वसम्मतको नाममा कलेज प्रशासनले एमाले निकट अनेरास्ववियुको निर्णयलाई स्वीकृत गरेको आरोप लागेको छ।
बुधवार प्रशासनले अनेरास्ववियुको टिमसहितलाई सर्वसम्मत भएको दाबी गरेको थियो। निर्वाचन समितीले बुधबार स्ववियु अध्यक्षमा अनेरास्ववियुका लोकेशकुमार खड्का, उपाध्यक्षमा अखिल क्रान्तिकारीका संगमकुमार लामा तामाङ, सचिवमा नेविसंघतर्फबाट शैलेन्द्र उपाध्याय, कोषाध्यक्षमा अनेरास्ववियूबाट अम्बिका अधिकारी चयन भएको सूची सार्वजनिक गरेको थियो।
तर नेविसंघ, क्रान्तिकारी लगायतका स्ववियु निर्वाचनका उम्मेदवारले भने एकलौटी ढङ्गले सर्वसम्मत विजयी गराएको भन्दै विरोध गरेका छन्।
विवादित सभापति लोकेश खड्काले आधिकारिक रूपमै सर्वसम्मत भएको दाबी गर्दै सोही अनुसार कलेज प्रशासनले स्वीकृति दिएको दाबी गरे।
‘आरआर कलेजमा भएका सबै संगठनको नेतृत्वसँग लामो समय कुराकानी गरेर नै यो निर्णयमा पुगेका हौँ,’ उनले दाबी गरे ‘सबैको निर्णय भएर नै हामी कलेज प्रशासन गएका हौँ। अब आरआरको विषयमा दुजाङ्ग शेर्पाले बोल्ने हो र?’
तर नेपाल विद्यार्थी सङ्घ आरआर कलेजका स्ववियु सभापतिका उम्मेदवार विनोद जोशीले यसमा नेविसंघको कुनै संलग्नता नभएको बताए।
‘सभापतिको उम्मेदवार म थिएँ। यस विषयमा मलाई कुनै जानकारी नै छैन। यो क्याम्पस प्रशासनले एकलौटी रूपमा गरेको निर्णय हो। यसको हामी विरोध गएका छौँ’ उनले भने।
एमाले निकट अनेरास्ववियुको पक्षमा लागेर सर्वसम्मतको नाममा बदमासी गरेको आरोप लागेका निर्वाचन प्रमुख महेश भट्टराइले अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेविसंघ लगायतका विद्यार्थीहरूको सहमतिमा सर्वसम्मत गर्ने निर्णय भएको दाबी गरे।
गत चैत्र ५ गते हुने भनिएको स्ववियु चुनाव अनेरास्ववीयुले मूल गेटमा तालाबन्दी गरेपछि स्थगित भएको थियो। पछि त्रिभुवन विश्वविद्यालयले १५ दिन भित्र निर्वाचन गर्न अन्तिम समय दिए पछि चैत्र १६ मा निर्वाचन हुने भनिए पनि राजावादी आन्दोलनको कारण निर्वाचन स्थगित भएको थियो।
त्यसपछि रविनराज खत्रीले उच्च अदालत पाटनमा चैत्र १९ मा रिट दायर गरे। अदालतले १५ गतेभित्र निर्वाचन गराउने आदेश दिएको थियो।
बुधवार कलेज प्रशासनकै मिलेमतोमा सर्वसम्मतको नाममा निर्वाचन छल्ने काम भएको भन्दै नेविसंघबाट स्ववियु सभापतिको उम्मेदवार बनेका जोशी पुन अदालत जाने बताए।
वैशाख १७, २०८२ बुधबार २३:३१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।