शिक्षक महासंघसँग सहमति, शिक्षामन्त्री पन्तले पत्रकार सम्मेलनमा पटक-पटक भने ‘धन्यवाद प्रधानमन्त्रीज्यू’

काठमाडौँ : सरकार र शिक्षक महासङ्घबीच भएको नौ बुँदे सहमति सार्वजनिक गर्ने कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्तले बारम्बार प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिए। उनले पत्रकार सम्मेलनमा बोल्ने क्रममा एमाले,नेपाली कांग्रेसका नेताहरूलाई पनि धन्यवाद दिएका थिए। उनको विशेष जोड प्रधानमन्त्री केपी शर्मा ओलीमा थियो।
परिणाममूलक ढङ्गले पुरा गर्नु भनेर विशेष निर्देशन दिएको र बेलाबखत सम्पर्क गर्दा निर्देशन दिइरहेको भन्दै उनले भने ‘म सम्माननीय प्रधानमन्त्रीज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु।’
अनि उनले महासङ्घको वार्ता टोलीसँग भएको सहमति पढेर सुनाए। पन्तका अनुसार शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँको निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने सहमति भएको छ।
अस्थायी प्रकृतिका शिक्षक, राहत, अस्थायी, साबिक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सोबापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने अर्को सहमति भएको छ।
प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकेबमोजिम व्यवस्था गर्ने, आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने सहमति पत्रमा उल्लेख छ।
स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साबिक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुनबमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने, सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने समेत सहमति भएको छ।
नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने, नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने तथा निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षकसरह हुने गरी कायम गर्ने सहमति भएको छ।
उक्त सहमतिलाई बुधवारै बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको शिक्षामन्त्री पन्तले जानकारी दिए। उनले पत्रकार सम्मेलनको अन्त्यमा पनि भने ‘धन्यवाद सम्माननीय प्रधानमन्त्रीज्यू।’
'प्रधानमन्त्रीको रूपमा प्रधानमन्त्रीज्यूले गो अहेड भनेर गरेको विश्वासका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई म धन्यवाद भन्न चाहन्छु' उनले भने।
पत्रकार सम्मेलनमा शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सरकारसँग भएको नौ बुँदे सहमतिसँगै आज बुधवारै मितिदेखि आम शैक्षिक हड्ताल फिर्ता लिएर विद्यालय भर्ना, परीक्षा सञ्चालनलगायत गतिविधि सुरु गर्न शिक्षक कर्मचारीलाई आग्रह गरे।
असार १५ भित्र शिक्षा ऐन
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापा, एमालेका मुख्य सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले शिक्षा विधेयक असार १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित भएर ऐन बनाउने विषयमा हस्ताक्षर गरेका थिए।
त्यसमा संसदीय समितीमा रहेको छलफल चाँडो टुंग्याएर असार १५ भित्र विधेयकलाई ऐनका रुपमा पारित गराउने उल्लेख छ।
स्वतः स्थायी र स्थानीय तहको नेतृत्वमा मौन
आन्दोलनकोक्रममा शिक्षक महासंघले सामुदायिक विद्यालयलाई स्थानीय तहको प्रत्यक्ष मातहतमा राख्न नहुने माग समेत राखेका थिए। अर्को शिक्षक कर्मचारीहरूको स्वतः: स्थायीको माग समेत भए पनि सरकारसँग र संसदीय दलका मुख्य सचेतहरुसँग भएको सहमतिमा यी दुबै विषय उल्लेख छैन।
वैशाख १७, २०८२ बुधबार २२:५६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।