वीर अस्पतालको क्यान्टिनमा बदमासी, टेन्डर रद्द गर्न सतर्कताको निर्देशन

वीर अस्पतालको क्यान्टिनमा बदमासी, टेन्डर रद्द गर्न सतर्कताको निर्देशन

काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)ले चमेना गृहको टेन्डर रद्द गर्न निर्देशन दिएको छ।

वीरको क्यान्टिनको टेन्डर पाएको गुजेश्वरी होटेल प्रालिले नक्कली कागजात पेस गर्दा समेत अस्पताल प्रशासनको मिलेमतोमा अयोग्य कम्पनीको बोलपत्र स्वीकृत गरिएको भन्दै सतर्कताले टेन्डर रद्द गर्न निर्देशन दिँदै वैशाख ९ गते प्रतिष्ठानलाई पत्र पठाएको हो।

आधारभूत योग्यता नै नपुगेको गुजेश्वरी होटेल प्रालिको स्वीकृत प्रस्ताव सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४ अनि टेन्डर प्रस्ताव गरेको आधारभूत सर्त र मापदण्ड विपरीत भएको देखिएको ठहर गर्दै सतर्कताले  गुजेश्वरीले पाएको टेन्डर रद्द गर्न निर्देशन दिएको हो।

सतर्कता केन्द्रले  २०८२ वैशाख सात गते सचिव स्तरीय निर्णय गर्दै सो प्रस्तावलाई रद्द गरेर पेस भएका (इलिजिबिलिटी क्राइटेरिया) पुगेका प्रस्ताव दाताहरू मध्येबाट सारभूत रूपमा प्रवाहग्राही प्रस्ताव छनोट गर्न र त्यसको जानकारी केन्द्रमा गराउन भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन, २०८१ को दफा ३८ (छ) बमोजिम निर्देशन दिइएको’ छ।

प्रतिष्ठान (वीर अस्पताल)ले चमेना गृह सञ्चालनका लागि आह्वान गरी २०८१ कात्तिक ९ गते पत्रिकामा प्रकाशित गरेको सूचनामा भएका अनिवार्य रूपमा पेस गर्नुपर्ने कागजात र न्यूनतम योग्यताका आधार पेस गर्नु पर्ने भए पनि गुजेश्वरी होटलले नगरेको सतर्कताले जनाएको छ।

छानबिन गरी पेस भएका प्रस्तावमध्ये योग्य कम्पनीलाई छनोट  गरियोस् भनी सतर्कतामा उजुरी दर्ता भएपछि वीरको क्यान्टिनको विषयमा छानबिन भएको सतर्कताले जनाएको छ। सतर्कताको उजुरी व्यवस्थापन समितिको बैठकबाट प्रतिष्ठानमा राय प्रतिक्रिया र पुष्टि हुने कागजातहरू मागेर अध्ययन गरिएको केन्द्रले जनाएको छ।

केन्द्रले प्रतिष्ठानलाई दिएको निर्देशनमा चमेना गृह सञ्चालन सम्बन्धी १५ दिने सिलबन्दी प्रस्ताव आह्वानको सूचनाको अनिवार्य रूपमा पेस गर्नुपर्ने कागजात र न्यूनतम योग्यताका आधारहरूमा सात वर्षको कार्यानुभव र हाल उक्त सेवा सञ्चालन गरिएको प्रमाण पेस गर्नु पर्ने उल्लेख गरेको छ।

तर, गुजेश्वरी होटेल प्रालिले पेस गरेको महाराजगन्ज नर्सिङ क्याम्पसको क्यान्टिनको प्रमाणपत्रको सम्बन्धमा सोध्दा सो नर्सिङ क्याम्पसमा गुजेश्वरी होटेल प्रालिले क्यान्टिन सञ्चालन नगरेको भन्ने जवाफ प्राप्त भएको सतर्कताले निर्णय गरेर प्रतिष्ठानका नाममा जारी गरेको पत्रमा उल्लेख छ।

त्यसैगरी ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिको पत्रबाट ओम हस्पिटल र रमाइलो चौतारी बिच भएको सम्झौतामा द्वितीय बहाल लिएको क्यान्टिनको स्पेस एरिया तद्धित पक्षले करार अवधि भरमा अन्य कुनै व्यक्ति वा संस्थालाई सम्झौता गरी भाडामा दिन सकिने छैन भन्ने व्यवस्था विपरीत सब लिज गरी गुजेश्वरी होटेललाई दिएको  भन्ने पत्र प्राप्त भएको सतर्कता केन्द्रले जनाएको छ।

महाराजगन्ज नर्सिङ क्याम्पस र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिको अनुभवका योग्यताका प्रमाणपत्रहरू मल्यांकनमा समावेश हुन योग्य नदेखिएको सतर्कताले उल्लेख गरेको छ।

प्रस्ताव आह्वानको सूचनामा भएको व्यवस्था अनुसार चमेना गृहले चालु आर्थिक वर्षमा खाद्य स्वच्छताको न्यूनतम गुणस्तर मापदण्ड पूरा गरेको प्रमाणपत्र वा गुणस्तरीय सेवा रहेको निरीक्षण प्रतिवेदनको प्रमाणपत्र पेस गर्नुपर्नेमा त्यो प्रमाणपत्र पेस गर्न नसकेको देखिएको सतर्कताले जनाएको छ।

त्यसैगरी गुजेश्वरी होटलले विभिन्न अनिवार्य रूपमा पेस गर्नुपर्ने कागजातहरू समेत पेस नगरेको देखिएको सतर्कताले जनाएको छ।

टेन्डर प्रस्तावकले अनिवार्य रूपमा पेस गर्नुपर्ने कागजातहरू पेस गर्नुपर्ने र निरीक्षण गर्दा त्यस्ता विवरणहरू नभएको खण्डमा, अपुग वा झुटा भएको खण्डमा मूल्याङ्कन समेत नगरिने सतर्कताले जनाएको छ।

‘न्यूनतम योग्यता प्रष्टरुपमा खुल्ने प्रमाणित सम्पूर्ण कागजातहरू पेस नगरेमा सो प्रस्ताव उपर कारबाही गरिने छैन भनी भएको व्यवस्था विपरीत गुजेश्वरी होटेल प्रालिको प्रस्ताव स्वीकृत भएको देखिन्छ,’सतर्कताले  छानबिनपछि प्रतिष्ठानको नाममा लेखेको पत्रमा उल्लेख छ।

वैशाख १७, २०८२ बुधबार २१:३३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।