प्रधानमन्त्री ओली भेटेर माधव नेपालले मागे चैत १५ तोडफोडको क्षतिपूर्ति

प्रधानमन्त्री ओली भेटेर माधव नेपालले मागे चैत १५ तोडफोडको क्षतिपूर्ति

काठमाडौं : एकीकृत समाजवादीले चैत १५ मा आफ्नो पार्टी कार्यालयमा भएको तोडफोडको क्षतिपूर्ति मागेको छ। बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको तर्फबाट सुझाव सहितको मागपत्र बुझाउन गएको टोलीले चैत १५ मा तीनकुने घटनाका क्रममा पार्टी कार्यालयमा भएको तोडफोडको उचित क्षतिपूर्तिको माग गरेको हो।

बुधवार पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित प्रधानमन्त्री निवास बालुवाटारमा गएर प्रधानमन्त्री ओलीलाई मागपत्र बुझाएका थिए। मागपत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि सुझाव दिइएको छ।

मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा सुझावहरू प्राप्त भएकामा धन्यवाद दिएका थिए। उनले नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने कोसिस गर्ने बताए।

प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालसँगै वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा गङ्गालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्रीकुमारी भुसाललगायत थिए। 

वैशाख १७, २०८२ बुधबार १८:४१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।