शाखा अधिकृतको पत्र कार्यान्वयन नगर्न जेलरलाई सह-रजिस्ट्रारको पत्र : रेसमलाई थुनामुक्त गर्नु

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरीलाई कारागार चलान गर्न सर्वोच्च अदालतले पठाएको पत्र आधिकारिक नभएको भन्दै अदालतका सह-रजिस्ट्रार अच्युत कुइँकेलले कारागारमा पत्र पठाएका छन्।
बुधवार बिहान सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको पत्रको आधारमा प्रहरीले रेसमलाई पक्राउ गरेर डिल्लीबजार कारागारमा चलान गरेको थियो। रिगल ढकालको मुद्दामा सरोकारै नभएका रेसमलाई जोडेर कारागार चलान गर्न त्रुटिपूर्ण पत्र पठाएको खुलेपछि सर्वोच्च प्रशासनले अर्को पत्र पठाउँदै रेसमलाई थुनामुक्त गर्न भनेको छ।
बुधवारै डिल्लीबजार कारागारको नाममा पठाएको दोस्रो पत्रमा अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई २०८२ वैशाख १७ मा कैदमा राख पठाइएको सम्बन्धमा भन्ने विषयमा कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र अदालतको आधिकारिक पत्र नभएको उल्लेख छ।
दोस्रो पत्रमा ‘उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साबिक दुर्गौली गाविस वडा नम्बर ८, हाल जानकी गाउँपालिका वडा नम्बर ६ घर भएका लालवीर चौधरीको छोरा रेसमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद/ थुनामुक्त गरिदिन’ अनुरोध गरिएको छ।
पत्र पठाउने शाखा अधिकृत विष्ट पक्राउ परिसकेका छन्। सर्वोच्चले नै उनीमाथि कार्वाहीका लागि भन्दै प्रहरीमा बुझाएको थियो। विष्ट अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा छन्।
सर्वोच्चको पदमा विष्टले अदालतको लेटरप्याड, छाप र पदको दुरुपयोग गरेको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार छानबिन गर्न भनिएको छ।
सम्बन्धित समाचार
वैशाख १७, २०८२ बुधबार १७:३१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।