रिगलको फैसलाको  पूर्ण पाठको आधारमा कसरी समातिए रेशम !

रिगलको फैसलाको  पूर्ण पाठको आधारमा कसरी समातिए रेशम !

काठमाडौं  : रिगल ढकाललाई राष्ट्रपतिले आम माफी दिने निर्णय विरुद्ध सर्वोच्चमा परेको रिट निवेदनको पूर्ण पाठको आधारमा अदालतले पक्राउका लागि पत्र पठाएपछि रेशम चौधरी पक्राउ परेको खुलेको छ।

प्रहरीले बुधबार चौधरीलाई पक्राउ गर्न पत्र पठाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पठाइसकेको छ। उनलाई माफी दिने राष्ट्रपतिको निर्णय विरुद्ध परेको रिट सर्वोच्चमा विचाराधीनै छ। तर, उनी एकाएक बुधबार पक्राउ परे।

‘उनलाई के को आधारमा पक्राउ गरेको हो?’ उकेराको जिज्ञासामा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहोराले 080-WF-0026 मुद्दाको पूर्ण पाठको आधारमा फैसला कार्यान्वयनका लागि अदालतबाट आएको पत्रको आधारमा पक्राउ परेको जानकारी दिए।

यो रिगल ढकाललाई आम माफी दिने राष्ट्रपतिको निर्णय विरुद्ध भारती शेर्पाले हालेको रिट थियो। यसमा २०८० कात्तिक १६ गते सर्वोच्चले फैसला गर्दै राष्ट्रपतिको निर्णय उल्टाएसँगै रिगल पुन पक्राउ परेर कारागार चलान भए। बुधबार एकाएक त्यही फैसलाको पूर्ण पाठको आधारमा चौधरी पक्राउ परे।

रिगलको मुद्दामा सर्वोच्चले राष्ट्रपतिको निर्णय र सो सम्बन्धी पत्राचारहरु उत्प्रेशणको आदेशबाट बदर गरेको थियो। सो मुद्दा र रेशमको मुद्दाको प्रकृति र विषय एकै भए पनि त्यसमा रेशमको नाम कतै छैन। तर त्यही मुद्दाको आदेशको आधारमा उनी कसरी पक्राउ परे? खुलेको देखिएन।

 

वैशाख १७, २०८२ बुधबार १४:५५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।