काटमारमै सकिन्छ ‘बलिदान’को टिजर

काटमारमै सकिन्छ ‘बलिदान’को टिजर

काठमाडौं : समीर भट्ट अभिनित दोस्रो फिल्म ‘बलिदान’को टिजर सार्वजनिक गरिएको छ। उनको जन्मदिनको अवसर पारेर निर्माण टिमले टिजर सार्वजनिक गरेको हो।

फिल्म निर्माणअघि नै निर्देशक सन्तोष सेनले ‘बलिदान’लाई आगामी दशैंको फूलपातिमा प्रदर्शन गर्ने घोषणा गरिसकेका छन्। अघिल्लो वर्ष समीरले आफ्ना पिता तथा अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ’मार्फत डेब्यु गरेका थिए।

समीक्षात्मक रूपमा कमजोर प्रतिक्रिया पाएको भए पनि ‘१२ गाउँ’ले घरेलु बक्स अफिसमा १९ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको थियो। यही कारण पनि समीरका लागि दोस्रो फिल्म सफल बनाउनु चुनौतीको विषय बनेको देखिन्छ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको ‘बलिदान’को टिजरमा एक्सन दृश्यहरूसँगै देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेसन सुन्न सकिन्छ। एक संवादका साथ काटमारको दृश्य प्रस्तुत गरिएको छ।

समीरका साथै फिल्ममा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको छ।

पटक-पटक लफडाका कारण रोकिएको यो फिल्म आसुसेन फिल्म्स् प्रालिको प्रस्तुति हो। फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्।

वैशाख १७, २०८२ बुधबार १४:५०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।