जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकीकरण कार्यक्रम स्थगित, प्रज्ञा भवनमा सरकारविरुद्ध नाराबाजी

काठमाडौं : जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकीकरण कार्यक्रम स्थगित भएको छ।
सर्वोच्चको फैसला कार्यान्वयनका लागि प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेर डिल्लीबजार कारागार लगिएसँगै दुई पार्टीबीच हुने भनिएको एकीकरण स्थगित भएको हो।
बैठक बसेर पार्टी एकीकरणबारे अर्को सूचनाबारे जानकारी दिइने जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जानकारी दिए।
पार्टी एकीकरणको मुखैमा उनलाई पक्राउ गरिएकोमा सिके राउतले भर्त्सना गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको खबर प्राप्त भएको छ। यसको हामी घोर भर्त्सना गर्दछौँ।’
उनलाई पक्राउ गरिएपछि प्रज्ञा प्रतिष्ठानमा जम्मा भएका दुई पार्टीका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका थिए।
वैशाख १७, २०८२ बुधबार १४:०२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।