अभिनेता प्रवीणको असफलताको रेकर्ड ब्रेक होला त ‘शिवांश : च्याप्टर १’ मा

काठमाडौं : अभिनेता प्रवीण खतिवडा डेब्यु फिल्मबाटै दर्शकको नजरमा पर्न सफल भए। अभिनयमा पनि कमजोर देखिएका छैनन्।
सोलो फिल्म नपाएका पनि हैनन्। तर, सफलताको स्वादको मामिलामा दर्शकबाट साथ पाउन सकेनन्। तर प्रयास जारी छ। अफर पनि पाइरहेकै छन्।
यसपटक भने ‘शिवांश : च्याप्टर वन' को पोस्टरमा एकल अर्थात लिड क्यारेक्टरमा देखिएका छन् उनी। फ्लोरमा गएको फिल्मको पोस्टर बुधबार सार्वजनिक गरेको निर्माणपक्षले रिलिज मिति असोज २४ तोकेका छन्।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने फिल्म सन्तोष कुमार आत्रेयको डेब्यु निर्देशन हो।
फिल्ममा प्रवीणसँगै तेज गिरी र रुषा न्यौपाने, विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायतका कलाकार छन्। यसले पनि दर्शकलाई हलसम्म तान्ने कलाकार प्रवीण नै देखिए।
फिल्मको कथा अञ्जान केसीले लेखेका हुन्। उनी यसका निर्माता पनि हुन्। सह-निर्मातामा शोभा भण्डारी र अनीश केसी बोगटी छन्। पटकथा बारत लिम्बुले तयार पारेका छन्। स्क्रिप्ट डक्टरमा फिल्म बोक्सीको घरका निर्देशक सुलक्षण भारती छन्।
फिल्ममा न्ह्यू बज्राचार्य र राजनराज सिवाकोटीको सङ्गीत रहनेछ। गीत राजनराज सिवाकोटी र विप्लव प्रतीकले लेखेका छन्। राजनराज सिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहने छ।
मिलन श्रेष्ठको द्वन्द्व रहने फिल्ममा नृत्य निर्देशन विक्रम चौहानले गर्नेछन्। सिनेमाटोग्राफी शरद महतोको रहने फिल्मको मुख्य सहायक निर्देशक बारत लिम्बु हुन्।
कार्यकारी निर्माता शम्भु थापा छन्।बिराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको चलचित्रमा आदेश सुब्बा भीएफएक्स प्रोड्युसरको भूमिकामा रहनेछन्।
कस्ट्युम कमल मिश्रले तयार गर्नेछन् भने मेकअप आर्टिस्ट (एमयूए) तुलसा लिम्बू हुनेछिन्। वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डीसीएन)ले लिएको छ।
वैशाख १७, २०८२ बुधबार १२:४८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।