नदी दोहनको असर : सुक्दै चापाकल, बगरमा परिणत हुँदै खेत

बुटवल : रुपन्देहीको शुद्धोधन गाउँपालिकाका वडा नं. १, ३ र ६ मा केही वर्षअघिसम्म चापाकलमा सजिलै पानी निस्कन्थ्यो। तर, अहिले अवस्था बदलिएको छ। धेरै चापाकल सुकेका छन् भने कतिपयमा १०० मिटर गहिराइमा पुगेपछि मात्र पानी आउँछ।
नदीको सतह र खोलाको गहिराइ बढेपछि २०० हाते पम्प र १० बोरिङ बन्द भएको स्थानीय प्रवीण खत्री बताउँछन्। अनियन्त्रित नदी दोहनले पानीको स्रोत मात्र होइन, सिँचाइ र पक्की पुलहरू पनि जोखिममा परेका छन्।
खेत बगरमा परिणत
शुद्धोधन गाउँपालिकाले दानव नदीबाट वर्षेनी नदीजन्य पदार्थ उत्खनन गर्दै आएको छ। तर, जथाभावी उत्खनन र कटान संरक्षणमा ध्यान नदिँदा खेतहरू बगरमा परिणत भएका छन्। स्थानीय जीतबहादुर रानाका अनुसार, करिब ६० बिघा खेत बगर बनेको छ।
‘गाउँपालिकाले उत्खननबाट आम्दानी गर्छ, तर खेत जोगाउन तटबन्ध वा नदी नियन्त्रणमा ध्यान दिँदैन’, उनले भने।
बलवा गाउँमा नदीको कटानले एक घरबाहेक सम्पूर्ण गाउँ विस्थापित भएको छ।
स्थानीय रामसुवक मल्लाहको गुनासो छ, ‘नदीले खेत बगर बनायो। गाउँपालिकाले त्यही बगर ठेक्कामा लगाएर कमाउँछ, तर कटान रोक्ने प्रयास गर्दैन।’
गाउँपालिकालाई कटान नियन्त्रणका लागि बारम्बार आग्रह गरे पनि बेवास्ता भएको स्थानीय बताउँछन्।
संरक्षणमा बेवास्ता
गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाएर करोडौंको राजस्व कमाए पनि कटान नियन्त्रण र क्षति न्यूनीकरणमा ध्यान नदिएको स्थानीयको गुनासो छ। एमाले शुद्धोधन गाउँ कमिटी अध्यक्ष राजेन्द्र कण्डेल र माओवादी केन्द्रका उपाध्यक्ष शम्भु चौहानले पनि संरक्षणमा बेवास्ता भएको आरोप लगाए।
स्थानीय जीतबहादुर रानाले मापदण्डविपरीत रातारात मेसिन प्रयोग गरेर ठेकेदारले नदी दोहन गर्दा पनि गाउँपालिका र नियमनकारी निकायले अनुगमन वा कारबाही नगरेको आरोप लगाए।
‘नदीको सतह गहिरिँदा खानेपानी र सिँचाइमा समस्या बढेको छ। तर, गाउँपालिकाले स्थानीयको मागलाई बेवास्ता गरेको छ’, उनले भने।
यता, गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष केशव प्रसाद अधिकारी भने नदीजन्य पदार्थको ठेक्काबाट प्राप्त राजस्वको २५ प्रतिशत सम्बन्धित वडामा छुट्याएर कटान नियन्त्रणको काम भइरहेको दाबी गर्छन्।
‘मापदण्डविपरीत उत्खनन हुन दिँदैनौँ। बदमासी गर्ने ठेकेदारलाई कारबाही गर्छौँ’, उनले रेडिमेड जवाफ दिए।
यस वर्ष शुद्धोधनले १२ घाटको ठेक्का लगाउँदै छ। यसमध्ये तीनवटा गौरवका आयोजनालाई नदीजन्य पदार्थ उत्खनन् गर्न अनुमति दिइएको छ भने ९ वटा घाटको ठेक्का आह्वान भएको छ।
गत वर्ष पालिकाले ठेक्काबाट ११ करोड राजस्व संकलन गरेको थियो र यस वर्ष पनि त्यति नै आम्दानी हुने अपेक्षा छ। तर, स्थानीयको विरोधले उत्खनन कार्यमा चुनौती थपिएको छ।
जथाभावी नदी दोहनले शुद्धोधनमा पानीको स्रोत सुक्दै गएको छ भने खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। स्थानीयले संरक्षण र क्षति न्यूनीकरणको माग गरिरहे पनि गाउँपालिकाको प्रयास अपर्याप्त देखिएको छ। नदीजन्य पदार्थ उत्खननबाट राजस्व कमाउने नीतिलाई संरक्षण र दिगो व्यवस्थापनसँग जोड्न नसकेसम्म यस्ता समस्या बढ्दै जाने देखिन्छ।
वैशाख १७, २०८२ बुधबार १२:३९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।