गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन सक्दैन : अध्यक्ष दाहाल

गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन सक्दैन : अध्यक्ष दाहाल
फाइल तस्बिर

कञ्चनपुर : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने बताएका छन्।

पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेश जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

'जनताको  बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ,' उनले भने, 'गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन सक्दैन।'

शहीद परिवार सम्मान कार्यक्रममा अध्यक्ष दाहालले ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताए।

अध्यक्ष दाहालले सहिद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए।

शहीदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै उनले शहीद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताए।

त्यस अवसरमा उनले सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरे।

यसैबीच, बेलौरी नगरपालिकाको रामपुरस्थित खानेपानी आयोजाको अध्यक्ष दाहालले उद्घाटन गरे। सोही नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालको पनि उनले अवलोकन गरे।

आजै अध्यक्ष दाहालले पुनर्वास नगरपालिका-५ शोभाताल प्राङ्गणमा शहीद तथा बेपत्ता परिवारका सदस्यहरूसँग भेट गरे। भेटमा उनले सहिदहरूको बलिदानलाई खेर जान नदिने र न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याए।

वैशाख १७, २०८२ बुधबार १०:५०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।