आईपीएलमा दिल्लीविरुद्ध कोलकाताको रोमाञ्चक जित

आईपीएलमा दिल्लीविरुद्ध कोलकाताको रोमाञ्चक जित

काठमाडौं : सुनिल नारायणको प्रभावशाली प्रदर्शनसहित कोलकाता नाइट राइडर्सले मंगलबार राति भएको आईपीएल खेलमा दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०४ रन बनाएको थियो।

कोलकाताका लागि रहमुल्ला गुरवाजले १२ बलमा २६, सुनिल नारायणले १६ बलमा २७ र अजिन्का रहाने १४ बलमा २६ रनको विस्फोटक सुरुवातपछि अंगरिस रघुवंशीले ४४ र रिकु सिंहले ३६ रनको योगदान दिए।

दिल्लीका लागि मिचेल स्टार्कले ३ विकेट, अक्षर पटेल र विपराज निगमले दुई-दुई विकेट लिए। पटेल सबैभन्दा किफायती बलर रहे। उनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।

२०५ रनको लक्ष्य पछ्याएको दिल्लीले सुरुवात राम्रो गरे पनि अन्तिम चरणमा विकेट गुमाउँदै ९ विकेटको क्षतिमा १९० रनमै सीमित रह्यो। फाफ डु प्लेसिसले ४५ बलमा ६२ र अक्षर पटेलले २३ बलमा ४३ रन बनाए।

उनीहरूबीच ७६ रनको साझेदारी भएपछि दिल्ली जित नजिक पुगेको थियो। तर, नारायणले पटेललाई आउट गरेपछि खेल कोलकातातर्फ फर्किएको हो।

नारायणले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने वरुण चक्रवर्तीले २ विकेट लिए। अन्तिम १७ बलमा कोलकाताले ५ विकेट लिँदै दिल्लीको जितको सम्भावना टार्न सफल भयो।

जितसँगै कोलकाताले १० खेलमा ९ अङ्क जोडेको छ र अंक तालिकामा सातौँ स्थानमा रहेको छ। दिल्ली १२ अङ्कसहित चौथो स्थानमा छ।

वैशाख १७, २०८२ बुधबार ०८:१०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।