सरकार र शिक्षकको वार्ता फेरि निष्कर्षविहीन, महासंघ अध्यक्ष भन्छन्- ‘१२ कक्षाको परीक्षाबारे गम्भीर छौँ’

सरकार र शिक्षकको वार्ता फेरि निष्कर्षविहीन, महासंघ अध्यक्ष भन्छन्- ‘१२ कक्षाको परीक्षाबारे गम्भीर छौँ’

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता फेरि निष्कर्षविहीन भएको छ।

मंगलबार रातिसम्म शिक्षा मन्त्रालयमा मन्त्रिपरिषदबाट हल गर्न सकिने बुँदाहरूबारे छलफल भए पनि वार्ता निष्कर्षविहीन भएको हो।

यद्यपि नेपाल शिक्षक महासंघले भने आफूहरूको माग सम्बोधन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएको छ।

महासंघका अध्यक्ष एवं आन्दोलन परिचालन संयोजक लक्ष्मीकिशोर सुवेदीले मन्त्रिपरिषदबाट हल गर्न सकिने बुँदाहरूलाई बुधबारको मन्त्रिपरिषद् बैठकमा लैजाने जवाफ सरकारले दिएको बताए।

मन्त्रिपरिषद्को निर्णयले के गर्छ त्यसपछिको रणनीति आफूले तय गर्ने उनको भनाइ छ। सडक आन्दोलनलाई भने जारी राख्ने उनकाे भनाइ छ।

कक्षा १२ को परीक्षाबारे आफूहरू गम्भीर रहेको भन्दै उनले कक्षा १२ को परीक्षा गर्ने वातावरण सरकारले तय गर्नुपर्नेमा जोड दिए।

वार्ताका दौरान शिक्षामन्त्री रघुजी पन्तले साझा मिलनबिन्दु खोजेर सहमतिको प्रयास गरिने बताएको अध्यक्ष सुवेदीले जानकारी दिए।

यसअघि सोमबार मध्यरातमा बसेको बैठक पनि निष्कर्षविहीन भएको थियो।

वैशाख १७, २०८२ बुधबार ०७:२०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।