नारायणी अस्पतालको सात करोड ८६ लाखको टेन्डरको प्रक्रियामै बदनियत

काठमाडौं : नारायणी अस्पतालले अगाडि बढाएको करिब सात करोड ८६ लाखमा ‘ओटी सेटअप’ सम्बन्धी मेसिनको टेन्डर प्रक्रियामा बदनियत देखिएको छ।अस्पतालले सुरुमा एउटै टेन्डरमा ‘११’ वटा सामग्रीको एउटा प्याकेज बनाएर करिब सात करोड ८६ लाखमा ‘ओटी सेटअप’ सम्बन्धी मेसिन खरिद गर्ने गरी सेटिङमा टेन्डर प्रक्रिया अगाडी बढाएको थियो।
अस्पतालले २०८१ चैत १२ (२०२५, मार्च २५) मा ‘ओटी सेटअप’ सम्बन्धी मेसिनको खरिदका लागि टेन्डर आह्वान गरेको हो। उकेराले टेन्डरको कागजपत्रको अध्ययन गर्दा मिलेमतोमा निश्चित उत्पादक कम्पनीको नेपाली सप्लायर्सलाई नै टेन्डर दिनेगरी ‘ओटी सेटअप’ सम्बन्धी मेसिनको स्पेशिफिकेशन बनाएको देखिन्छ।
त्यसमा पनि एउटै टेन्डरमा ‘११’ किसिमका फरक फरक प्रकृतिका सामग्रीको एउटै प्याकेज बनाएर टेन्डर प्रक्रिया अगाडी बढाइएको छ।
अस्पतालले २०८२ वैशाख ३ मा प्रिबिड मिटिङ राखेको थियो। प्रिबिड मिटिङमा सप्लायर्स कम्पनीहरूले स्पेसिफिकेसन लक्ड गरेर स्वतन्त्र प्रतिस्पर्धा गर्न रोकेको भन्दै संशोधनको माग गरेका थिए।
अस्पतालले प्रिबिड मिटिङपछि २०८२ वैशाख ८ (२०२५, अप्रिल २१) मा ‘ओटी सेटअप’ सम्बन्धी मेसिनको टेन्डर कागजातमा भएका केही प्रावधान संशोधन गर्दै ‘११’ किसिमका सामग्रीको एउटै प्याकेज फुटाएर ११ वटै सामग्री छुट्टाछुट्टै रूपमा टेन्डर प्रस्ताव गर्न मिल्ने बनाएको देखियो।
अस्पतालले टेन्डर आह्वान गर्दा टेन्डर कागजातमा,‘बीडर सुड बिड अल दी आइटम्स् एन्ड इभ्यालुशन विल बी प्याकेजवाइज’ लेखेको थियो। यो प्याकेजको बुँदालाई छुट्टाउँदै संशोधित बुँदामा ‘बीडर्स मे सब्मिट अफर्स फर वान अर मोर आइटम्स्, एन्ड इच आइटम वील बी इभ्यालुटेड एन्ड अवार्डेड सेप्रेट्ली (आइटमवाइज इभ्यालुशन)’ लेखेको छ।
प्याकेज बनाउँदा टेन्डरको सेटिङको पोल खुल्ने भएपछि अस्पताल प्रशासनले यो बुँदा संशोधन गरे पनि निश्चित सप्लायर्सलाई सहयोग गर्न राखिएका अन्य विभिन्न बुँदाहरू संशोधन भएको छैन।
अस्पतालले यो टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति संशोधन गर्दै वैशाख ११ गतेबाट तीन दिन लम्ब्याएर वैशाख १४ गते १२ बजे सम्मलाई तोकेको थियो। भने सोही दिन दुई बजेलाई टेन्डर खुल्ने समय तोकिएको थियो।
अस्पताल स्रोतका अनुसार ६ वटा सप्लायर्स कम्पनीले प्रिबिडमा संशोधनको माग गरे पनि सेटिङ अनुसारको लक्ड नखोलिएपछि धेरैले टेन्डर प्रस्ताव गरेनन्। कति वटा सप्लायर्स कम्पनीले टेन्डर प्रस्ताव गरे भन्ने पनि खुलेको छैन।
नारायणीको यो टेन्डरको स्पेशिफिकेशन बनाउने बायोमेडिकल इन्जिनियर हुन्, अमित चौधरी। उनी आफैँ ‘एमकेयर टेक्नोलोजी’ सप्लायर्स कम्पनीमा आबद्ध छन्।
सप्लायर्स कम्पनीको बायोमेडिकल इन्जिनियरलाई नारायणीमा लगेर स्वतन्त्र प्रतिस्पर्धा नहुने गरी स्पेशिफिकेशन बनाएको देखिन्छ।
उनले आफू ‘एमकेयर टेक्नोलोजी’ मा काम गर्ने स्विकारे पनि यो फर्म कसको नाममा छ भन्ने खुलाएनन्।
‘डकुमेन्ट जे बोल्छ त्यही लेख्नुहोस्,’उनले उकेरासँगको कुराकानीमा भने।
स्रोतको दाबी अनुसार उनले यो फर्मबाट विभिन्न ठाउँमा टेन्डर हाल्ने गरेका छन्। एकातर्फ निजी फर्मबाट टेन्डर पार्ने अनि आफैँ बायोमेडिकल इन्जिनियरका रूपमा सरकारी अस्पतालमा स्पेशिफिकेशन बनाउनु ‘स्वार्थको द्वन्द्व प्रस्ट देखिन्छ। हाल नारायणीको निर्देशक डा. चुमनलाल दास छन्।
टेन्डर प्रस्ताव गरिसकेपछि मूल्याङ्कनको चरण सुरु हुन्छ। यो टेन्डरमा अस्पतालले ‘सिङ्गल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेस’ विधि अपनाइएको छ। ‘सिङ्गल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेस’ भनेको ‘दुई खाम विधि’ हो।
दुई खाम विधिमा सुरुमा टेन्डर प्रस्ताव गरेका सप्लायर्स कम्पनीको प्राविधिक मूल्याङ्कन हुन्छ। त्यसपछि प्राविधिक मूल्याङ्कनमा छनोट भएका सप्लायर्स कम्पनी मात्रै आर्थिक मूल्याङ्कनको चरणमा पुग्छन्।
प्राविधिक मूल्याङ्कनको चरणमा सप्लायर्स कम्पनीले पेस गरेको मेसिन, औजार तथा उपकरण टेन्डर आह्वान गर्ने संस्थाले सार्वजनिक गरेको स्पेशिफिकेशनसँग मिल्छ की मिल्दैन भन्ने जस्ता प्राविधिक पक्षको मूल्याङ्कन गरिन्छ।
सेटिङ नहुने हो भने प्राविधिक मूल्याङ्कनको चरणमा सामान्यतया एकभन्दा बढी सप्लायर्स कम्पनी छनोट हुन्छन्। प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर स्पेशिफिकेशन बनाइएको छ भने जोसँग सेटिङ हो उसैलाई मात्र प्राविधिक मूल्याङ्कनमा छनोट गरिन्छ।
प्राविधिक मूल्याङ्कनको चरणमा छनोट भएका सप्लायर्स कम्पनीहरूको आर्थिक प्रस्ताव खुल्छ। आर्थिक प्रस्ताव खुलिसकेपछि सस्तो मूल्यमा गुणस्तरीय सामग्री ल्याइदिने कबुल गर्ने सप्लायर्स कम्पनीले टेन्डर पाउँछ। र, निश्चित खरिदको प्रक्रिया पूरा गरी उसले सामग्री ल्याइदिन्छ।
सामान पहिल्यै ल्याएर ‘डेलिभरी डेट’मा सेटिङ
नारायणी अस्पतालले एउटै टेन्डरमा ‘११’ किसिमका सामग्रीका करिब सात करोड ८६ लाखमा ‘ओटी सेटअप’ सम्बन्धी मेसिन खरिद गर्ने गरी टेन्डर प्रक्रिया त अगाडि बढायो नै तर, यति ठूलो रकमको सामग्रीमा, टेन्डर पार्ने सप्लायर्स कम्पनीले टेन्डर पाएको ३० दिन भित्रमा ल्याउनु पर्ने सर्त राखिएको छ।
टेन्डरमा यो नै सबैभन्दा शङ्कास्पद बुँदा हो। यसले पहिल्यै मिलेमतो गरेर टेन्डर निकालेको पुष्टि हुने भएपछि अहिले अस्पताल प्रशासनले स्पेशिफिकेशन संशोधन गर्दै टेन्डर पार्ने सप्लायर्स कम्पनीले टेन्डर पाएपछि २०८२ जेठ २५ गतेसम्ममा ‘ओटी सेटअप’ सम्बन्धी मेसिन ल्याइदिनुपर्ने सर्त राखेको छ।
स्पेशिफिकेशन (टेन्डर कागजात)को ‘डेलिभरी एन्ड कम्प्लेशन सेड्युल’ उपशीर्षकमा ‘फाइनल डेलिभरी डेटः २०८२ जेठ २५’ भन्ने सर्त राखिएको छ।
नारायणीको यो खरिदमा एनसिबी गर्दा सामान उपलब्ध गराउन दिइएको छोटो समयले ती सामानहरू पहिल्यै ल्याएर स्टक राखेको देखिन्छ। यसले टेन्डरको स्पेशिफिकेशन निर्माणको चरणबाटै टेन्डर पर्ने पक्का गरेर आपूर्तिकर्ताले खरिद सम्झौता हुनु अगाडि नै सामग्री नेपाल भित्र्याएर स्टक राखेको देखिन्छ।
किन भने अस्पतालले यो टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति वैशाख १४ गतेसम्मलाई तोक्यो भने सोही दिन दुई बजेलाई टेन्डर खुल्ने समय तोकेको थियो।
त्यसपछि प्राविधिक र आर्थिक मूल्याङ्कनको चरणको प्रक्रिया पूरा गर्न नै करिब दुई हप्ता भन्दा बढी समय लाग्न सक्छ। त्यसपछि टेन्डरका प्रक्रिया पूरा गरेर टेन्डर स्वीकृत हुन्छ।
नेपालमा यी स्वास्थ्य सामग्री बन्दैनन्। यस्ता मेसिन, औजार तथा उपकरण सम्बन्धित उत्पादन कम्पनीलाई अर्डर दिएर नेपाल ल्याउन मात्रै पनि टेन्डर पाएको समयपछि तीन महिनासम्म लाग्ने देखिन्छ।
यो टेन्डरमा त टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति वैशाख १४ बाट अस्पतालले सामग्री ल्याइदिनुपर्ने सर्त राखेको मिति जेठ २५ सम्मको अवधि जम्मा ४४ दिन मात्रै हुन्छ।
यो टेन्डरमा टेन्डर स्वीकृत भएको दिनदेखि सामग्री ल्याइसक्नुपर्ने समय एक महिना पनि दिएको देखिँदैन। टेन्डर प्रस्ताव गरेको अन्तिम मितिदेखि ४४ दिनभित्रमा अस्पतालले सामग्री ल्याइसक्नुपर्ने मिति राख्नुबाट नै पहिल्यै सामग्री नेपालमा ल्याएर सेटिङ अनुसार नै अस्पतालले टेन्डर प्रक्रिया अगाडि बढाएको देखिन्छ।
अन्तर्राष्ट्रिय बोलपत्रलाई निषेध
नारायणी अस्पतालले एउटै टेन्डरमा ‘११’ किसिमका सामग्रीको करिब सात करोड ८६ लाखमा ‘ओटी सेटअप’ सम्बन्धी मेसिन खरिद गर्ने गरी अगाडी बढाएको टेन्डरमा ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) विधि अपनाएको छ।
अस्पतालले अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (आइसिबी) लाई निषेध गर्दै यति ठूलो रकम करिब सात करोड ८६ लाखमा ‘ओटी सेटअप’ सम्बन्धी मेसिनको खरिदका लागि ‘एनसीबी’ विधिमा खुम्च्यायो।
एनसीबी नेपाल भित्रका सप्लायर्स कम्पनीले मात्रै टेन्डर प्रस्ताव गर्न पाउने खरिदको विधि हो। एनसीबी गर्दा अन्तर्राष्ट्रिय खरिद प्रतिस्पर्धा हुन पाउँदैन। जसले गर्दा मेसिन थप महँगोमा खरिद गर्ने सम्भावना बलियो हुन्छ। एनसीबीका बेफाइदा अरू पनि छन्।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ४९ (क) मा ‘राष्ट्रिय वा अन्तर्राष्ट्रिय बोलपत्रको जानकारी’बारे बोलपत्र आह्वानको सूचनामा खुलाउनुपर्ने विषय उल्लेख गरिएको छ। कानुनी छिद्रामा खेल्दै अस्पतालले एनसीबी गरेको देखिन्छ।
राष्ट्रिय बोलपत्रमा भन्दा अन्तर्राष्ट्रियकरण बोलपत्र हुँदा केही हदसम्म मिलेमतोको जोखिम कम हुनसक्छ। अन्तर्राष्ट्रिय स्तरको बोलपत्रमा अन्तर्राष्ट्रिय कम्पनीहरूले खरिदमा प्रतिस्पर्धा गर्न पाउँदा मूल्य लगायतमा पारदर्शीताको सम्भावना रहन्छ। तर, राष्ट्रिय बोलपत्र (एनसीबी) गर्दा अन्तर्राष्ट्रिय कम्पनीले खरिदमा प्रतिस्पर्धा गर्न नै पाउँदैनन्।
नारायणीको यो टेन्डरमा एनसिबी प्रक्रियामा टेन्डर अगाडि बढाए पनि जसले टेन्डर पार्छ उसले सो उपकरण नेपाल बाहिरैबाट ल्याउने हो।
नारायणी अस्पतालले टेन्डर आह्वान गरेको ‘ओटी सेटअप’ सम्बन्धी मेसिनको ठेक्का (आइएफबी) नम्बर ‘एन एच-एनसीबी-गुड्स-२०८१-०८२-१५’ हो। सो टेन्डरको कागजातमा, ‘सप्लाई, डेलिभरी एन्ड इन्स्टलेश अफ ओटी सेटअप इक्वीप्मेन्ट’ लेखिएको छ।
यसरी ‘आइसिबी’लाई निषेध गरेर ‘एनसीबी’ विधि अपनाउनुले नै नेपालमा खरिद प्रक्रिया सुरु भएपछि वा नहुँदै ल्याएर थन्क्याइएको मेसिन अस्पताललाई दिने तयारी रहेको देखिन्छ।
अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गराएर ‘आइसिबी’ गरेको खरिदमा सप्लायर्स कम्पनीलाई कमिसन रेट ‘एनसीबी’को तुलनामा कम हुन्छ।
‘एनसीबी’मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा नहुने भएकाले सप्लायर्स कम्पनी र अस्पताल प्रशासनको मिलेमतोमा आफू अनुकूल कमिसन रेट उच्च राख्न सहज हुन्छ।
खरिदमा आइसिबी विधि अपनाएको खण्डमा मेसिन, औजार तथा उपकरणमा कुनै खराबी भए वा प्रयोग गर्नै नमिल्ने किसिमको भए पुनः कम्पनीले निःशुल्क दिन सक्छ।
तर, एनसिबी विधिमा भने त्यस्तो सम्भावना न्यून हुन्छ। एनसीबीमा एक पटक मेसिनको उद्घाटन गरेर चलाएपछि मेसिन जति बिग्रिए पनि बनाएर जेनतेन वारेन्टीको समयसम्म चलाइदिएर सप्लायर्स कम्पनीले उन्मुक्ति पाउने सम्भावना हुन्छ।
यी हुन ११ सामग्री
नारायणी अस्पतालले एउटै टेन्डरमा ‘११’ किसिमका सामग्रीको एउटा प्याकेज बनाएर गरेको टेन्डर छुट्याए पनि टेन्डर नम्बर भने उही नै हो। अस्पतालले आह्वान गरेको सो टेन्डरको कागजातमा, ‘सप्लाई, डेलिभरी एन्ड इन्स्टलेश अफ ओटी सेटअप इक्वीप्मेन्ट’ लेखिएको छ।
त्यसमा ११ किसिमका सामग्री छन्। अस्पतालले टेन्डर गरेको ११ किसिमको सामग्रीमध्ये ‘सर्जिकल इएनटी माइक्रोस्कोप’ एउटा, ‘एड्भान्स सर्भाइकल स्क्यानर’ एउटा, ‘इन्ट्रा ओरल स्क्यानर’ एउटा, ‘ल्याप्रोस्कोपि ४के सिस्टम’ एउटा, ‘आर्थोस्कोपि ४के सिस्टम’ एउटा छन्। त्यसैगरी ‘ब्यारियाट्रिक सर्जरी टेबल सिस्टम’ एउटा, ‘सर्जिकल लाइट–हाइ इण्डः भिडियो क्यामेरा र रेकर्डिङ सिस्टम रेडी’ एउटा, ‘होरिजेन्टल अटोक्लेभ मेसिन’ एउटा, ‘सिस्टम अफ एनेस्थेसिया डेलिभरी सिस्टम वीथ कार्डियाक बाइपास फंशन’ एउटा, ‘डेडिकेटेड प्रिम्याचुर भेन्टिलेटर’ एउटा (कम्प्रेशर बेस्ड) र ‘न्युरो ड्रिल सेट’ एउटा खरिदका लागि अस्पतालले प्याकेज बनाएर टेन्डर आह्वान गरेको थियो।
तर, यी मेसिन, उपकरण तथा सामग्रीको प्रकृति फरक भएको विषयमा प्रश्न उठेपछि फसिने डरले अस्पताल प्रशासनले प्याकेज फुटाएर प्रत्येक फरक सामग्रीका लागि टेन्डर गर्न पाइने गरी स्पेशिफिकेशन संशोधन गरेको हो।
वैशाख १६, २०८२ मंगलबार २२:५१:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।