तस्करीको सुनको पैसा खोज्दा भेटियो नयाँ तथ्य ,बैँकिङ्ग च्यानल बाहिरै १७ अर्बको अवैध कारोबार

तस्करीको सुनको पैसा खोज्दा भेटियो नयाँ तथ्य ,बैँकिङ्ग च्यानल बाहिरै १७ अर्बको अवैध कारोबार

काठमाडौँ : देश भित्रै अवैध कारोबार बढेको भन्दै नेपाल राष्ट्र बैँकले रेमिट कम्पनी मार्फत देशभित्र हुने कारोबारमा सीमा निर्धारण गर्यो।

२०७८ फागुन १८ मा केन्द्रीय बैँकको भुक्तानी प्रणाली विभागले परिपत्र जारी गर्दै रेमिट कम्पनीहरूले १ लाख रुपैयाँसम्म रेमिटेन्स कम्पनी मार्फत नेपालको विभिन्न जिल्लामा रकम पठाउन पाइने व्यवस्था खारेज गरेर एक पटकमा जम्मा २५ हजार रुपैयाँ देशभित्र कारोबार गर्न पाउने बनायो।

परिपत्रमा भनिएको छ, ‘यस बैंकबाट इजाजत पत्र प्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब–एजेन्ट वा सब–रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा सम्बन्धित विप्रेषण कम्पनीको सिस्टम अनिवार्य रूपमा प्रयोग गरी प्रतिव्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम २५ हजार रुपैयाँसम्मको कारोबार गर्न सक्नेछन्।’

उक्त परिपत्र जारी गर्नुको प्रमुख कारण रेमिटेन्स कम्पनी मार्फत हुन्डी कारोबार बढेको शङ्का कारक थियो। तर उक्त परिपत्र नमानी अवैध रूपमा रेमिटबाट कारोबार गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान विभागले वैशाख १५ मा २१ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढायो।

ब्युरोका प्रवक्ता सुधिरराज शाहीका अनुसार प्रारम्भिक अनुसन्धानमा १७ अर्ब ८६ करोड ७० लाख ४९ हजार रुपैयाँ बैङ्किङ च्यानलमा नदेखिएपछि अनुसन्धान सुरु भएको हो। यो रकम अवैध कारोबार भएको उनले बताए।

‘सिआइबीले १० महिना अघि नै रेमिट कम्पनीका आवरणमा अवैध कारोबार भएको अनुसन्धान गरेको थियो। त्यस क्रममा अहिले २१ जना पक्राउ परेका ब्युरोका प्रवक्ता शाहीले उकेरासँग भने।

कसरी हुन्थ्यो कारोबार?

६४ वर्षका गोविन्द आचार्यले चितवनमा हिमालयन मनी ट्रान्सफर नामक रेमिट कम्पनी सञ्चालन गरिरहेका छन्। उनको कारोबार ५१ करोड ४९ लाख ९ हजार रुपैयाँ देखियो। तर अधिकांश कारोबार बैङ्किङ च्यानल बाहिर देखिएपछि उनी अनुसन्धानको दायरामा आए। अहिले प्रहरी अनुसन्धानमा रहेकाहरू आचार्य जस्तै शङ्कास्पद कारोबार देखिएकाहरू हुन्।

ब्युरोका अनुसार पेवेल, सजिलो पे लगायतका वालेट कम्पनीहरूबाट विभिन्न बैङ्कहरूमा खाता खोल्ने, त्यो खातामा गएर मान्छेले पैसा जम्मा गर्ने र भौचर लिएर रेमिट कम्पनीहरूमा आउने अनि मनी ट्रान्सफरहरूले पेवेल लगायतका अकाउन्टबाट पैसा लोड गर्ने गरेको देखिन्छ। 

अनलाइन मार्फत कारोबार गर्न मिल्ने भए पनि आरोपीहरूले अनलाइनको माध्यम वा बैङ्किङ सिस्टम मार्फत नपठाई पेवेल, सजिलो पे लगायतका वालेट कम्पनीको खाता प्रयोग गर्ने गरेका थिए।

वालेटमा खाता खोलेपछि पैसा पठाउन चाहनेले सञ्चालकले पेवेलको खातामा पैसा लोड गर्ने, पेवेल कम्पनीहरूले विभिन्न बैङ्कहरूमा आफ्नो नाममा खाता खोलेको हुन्छ, त्यो खातामा गएर पैसा हाल्ने र भौचरको फोटो खिचेर पठाउने गर्दै आएका थिए।

अनि सो रकम आचार्यको रेमिटमा जान्थ्यो। आचार्यलाई जम्मा गर्ने मान्छेले पेवेलको खातामा पैसा जम्मा गरेको प्रमाण देखाएपछि रेमिट सञ्चालकको समेत पेवेलमा खाताबाटै कारोबार गर्ने गरेका थिए।

उनीहरूले रकम वितरणमा पनि पेवेलकै प्रयोग गर्ने गरेको ब्युरोको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। यसरी पैसा पठाएबापत रेमिट कम्पनीले दश लाखको १ हजारसम्म कमिसन लिने गरेको देखिएको प्रवक्ता शाहीले बताए।

‘कमिसन सबैको समान छैन। कसैले १० लाखको १ हजार लिएको देखिन्छ। यसो हेर्दा भिन्न भिन्न कम्पनीले भिन्न भिन्न कमिसन लिने गरेको देखियो’ उनले भने।

बैङ्कलाई छलेर कारोबार

आरोपीहरूले बैँकिङ्ग प्रणाली छलेर कारोबार गरिरहेका थिए। उनीहरूले कारोबारमा पेवेल, सजिलो पेको प्रयोग गरेको अनुसन्धानमा देखिन्छ। यसले रकमको स्रोत खुल्दैन भने हुन्डीको जोखिम समेत बढाउँछ।

‘कसैले बैँकमा गएर २० लाख हालेर जुन-जुन बैँक खातामा पैसा पठाउनु पर्ने थियो, त्यो त्यो बैँकमा उनीहरूले ट्रान्सफर गरेको भए बैँकिङ्ग च्यानलबाट जान्थ्यो। रकम बैँकिङ्ग सिस्टममा देखिन्थ्यो। कर तिर्ने र सरकारलाई आम्दानी हुन्थ्यो’ प्रवक्ता शाही भन्छन्, ‘तर पेवेल, सजिलो पे मार्फत कारोबार गर्दा बैँकिङ्ग च्यानलबाट पैसा नै हराउने र उनीहरूले अनलाइन मनी बनाउने गरेको खुल्यो।’

उनीहरूले कारोबार गर्दा बिचको चेन ब्रेक गरेर गरेको खुलेको शाहीले बताए। आरोपीहरूले बैँकिङ्ग सिस्टमलाई बाइपास गरेर अर्थतन्त्रमा आउने राजस्वमा समेत कमी हुने देखिन्छ।

सुनको पैसा पनि पेवालमा

२०८१ जेठ २७ मा ६० किलो सुन प्रकरणमा सजिलो पे पेमेन्टका केही सञ्चालकहरू पक्राउ परेका थिए। केन्द्रीय अनुसन्धान ब्युरो नै उनीहरूमाथि अनुसन्धान सुरु गरेको थियो।

पेवेलका अध्यक्ष भीम प्रसाद तिमल्सिना सहित पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्दा अवैध कारोबारको सूची फेला पारेको थियो।

भीमको मोबाइलबाट भएको कारोबारका आधारमा रेमिट कम्पनीहरूले गरिरहेको बदमासीसम्म प्रहरी पुगेको देखियो।

‘अवैध कारोबार सम्बन्धी मुद्दा त हामीले गएको वर्ष नै बुझाएको थियौँ। शङ्का लागेर उनीहरूको ट्रान्जेक्सन हेर्दा अन्य पनि देखिएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेका हौँ’ शाहीले भने।

२१ जनाबाट १७ अर्ब बढी कारोबार

ब्युरोले अहिले विभिन्न जिल्लाका २१ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा एकै रेमिटबाट दुई अर्ब बढी रकमसम्म बैङ्किङ च्यानल बाहिरबाट कारोबार भएको देखिन्छ।

यसरी कारोबार गर्ने रेमिटहरू मधेस प्रदेशका छन्। उनीहरू धनुषा, पर्सा, नवलपरासी, सप्तरी चितवन लगायतका जिल्लाका छन्। यसमा सबैभन्दा अगाडि देखियो डिएस ट्रेडर्स तथा रेमिट। दीपज्योति ट्रेडर्स, रिया ट्रेडर्सले एक अर्बमाथिको कारोबार बैङ्किङ च्यानल बाहिरबाट गरेका छन्।

अन्यमा आनन्द ट्रेडर्स, नयाँ सन्ध्या इन्टरप्राइजेज, ललिता मनि ट्रान्सफर,श्री अञ्जल इन्टरप्राइजेज, पूजा सप्लायर्स, टासी ट्राभल्स एण् टुर्स, शिवम् इन्टरप्राइजेज् लगायतका सञ्चालक अहिले ब्युरोको हिरासतमा छन्।

वैशाख १६, २०८२ मंगलबार २०:४७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।