सोती घटनाका २४ अभियुक्तलाई जातीय विभेद मुद्दामा सफाइ, अदालत अगाडि पीडित पक्षको नाराबाजी

सोती घटनाका २४ अभियुक्तलाई जातीय विभेद मुद्दामा सफाइ, अदालत अगाडि पीडित पक्षको नाराबाजी

सुर्खेत : रुकुमपश्चिमको सोतीमा अन्तर्जातीय प्रेमको विषयमा मारिएका २१ वर्षीय नवराज विकसहित ६ जनाको हत्या भएको घटनाका २४ आरोपीलाई जातीय विभेद र छुवाछुतको कसुरमा उच्च अदालत सुर्खेतले सफाइ दिएको छ। 

ज्यान सम्बन्धी कसुरमा भने जिल्ला अदालत रुकुमपश्चिम अदालतको आदेशलाई सदर गरेको उच्च अदालत सुर्खेतका प्रवक्ता उपरजिष्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए। ‘२४ जनालाई जन्मकैद शुरू सदर। जातीय छुवाछुतबाट सबै प्रतिवादलाई सफाइ र केही उल्टी फैसला भएको छ,’ उनले भने, ‘पूर्णपाठ आउन केही समय लाग्छ।’ 

न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको संयुक्त इजलासले फैसला सुनाएको हो। ०८० मंसिर १९ गते जिल्ला अदालत रुकुमपश्चिमका तत्कालीन जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले तत्कालीन वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। त्यस्तै नवराजकी प्रेमीका, उनकी आमा र दाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो। 

घटनामा आठ जनाले भने सफाइ पाएका थिए। जिल्लाको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गरेका थिए । ०८२ वैशाख ९ गते उच्च अदालत सुर्खेतमा दायर २६ थान पुनरावेदन निवेदनमाथि न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा सुनुवाइ भएको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। 

जातीय विभेदजस्तो जघन्य अपराधमा उच्चले उन्मुक्ति दिएको भन्दै मृतकका आफन्त र दलित अधिकारकर्मीहरूले उच्च अदालत गेट अगाडि नाराबाजी गरिरहेका छन्।

नवराजसँगै गएका २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाही पनि सोती घटनामा मारिएका थिए। उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो।

वैशाख १६, २०८२ मंगलबार २०:३६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।