लेखनमा लगाम लगाउने हो भने लोकतन्त्र रहँदैन : मन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको बताए।
मंगलबार तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा आयोजित राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लेखक र लोकतन्त्र एक अर्काका पर्यायवाची भएका बताए।
उनले बीपी कोइरालाको भनाइ उद्धृत गर्दै, ‘राजनीतिमा प्रजातन्त्रवादी र लेखनमा अराजकवादी’ भन्नुको आशय उल्लेख गर्दै, लेखकलाई लोकतन्त्रमा नियन्त्रण गर्न खोज्नु अनुचित हुने बताए।
‘लेखन लोकतन्त्रसँग मिल्दोजुल्दो अभ्यास हो। लेखनमा लगाम लगाउने हो भने लोकतन्त्र रहँदैन। लेखक र लोकतन्त्र एक अर्काका पर्यायवाची हुन्,’ उनले भने।
मन्त्री पाण्डेले लोकतन्त्रप्रति समर्पित विद्वानहरू जस्तोसुकै कठिन परिस्थितिमा पनि एकजुट हुनसक्ने स्मरण गराए। हालको समयमा निराशाको खेती बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले आशा र सकरात्मकताका सन्देश दिन लेखकहरूको भूमिकाको आवश्यकता समेत औंल्याए।
पछिल्लो समय लेखकहरूबाट गुणस्तरीय पुस्तक, गीत तथा संगीतहरू सिर्जना भइरहेको भन्दै उनले राजनीतिमा पनि पारदर्शिता र स्वच्छता खोजिने वातावरण सिर्जना हुँदै गएको धारणा राखे।
वैशाख १६, २०८२ मंगलबार २०:००:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।