सार्वजनिक यातायात हिंसाको अखडा, ७८ प्रतिशतसम्म यात्रुमाथि हुन्छ यौन हिंसा

सार्वजनिक यातायात हिंसाको अखडा, ७८ प्रतिशतसम्म यात्रुमाथि हुन्छ यौन हिंसा

काठमाडौं: फागुनमा एक युवती बागबजारबाट सिनामंगल जाने गाडी चढिन्। सिनामंगल अन्तिम स्टेसन रहेको उक्त गाडी मैतीदेवी चोक नपुग्दै  खाली भयो। गाडी रित्तिँदै गएपछि सह-चालक यात्रुको नजिकै आइपुगे। सह-चालकले सिधै उनलाई भने, "तिमी बस पार्कबाट चढेकी हैनौँ? कहाँ जाने हो?"

सह-चालकले यस्तो बोलेपछि उनी एकछिन वाल्ल परिन्। उनले सिरदेखि पुछारसम्म डरलाग्दो गरी हेरेनन् मात्र, नजिकै सरे।

सिनामंगलको एक क्याम्पसमा पढाउने उनले "ओ भाइ, के भन्न खोजेको?" भनेपछि ती सह-चालक "किन रिसाउनु भो र" भनेर अझ धेरै हाँसे। सह-चालकको हर्कत नपचेपछि उनले गाली गरिन्। प्रहरीलाई खबर गरिदिन्छु भनेपछि मात्र सह-चालक हच्किए। सिनामंगल पुग्नुपर्ने उनी मैतीदेवी चोकमै ओर्लिन्।

यसमा पनि अपाङ्गता भएका यात्रुहरूमाथि हुने हिंसा डरलाग्दो देखिन्छ। २०७६ सालमा एक अपाङ्गता भएकी महिला सिन्धुलीबाट काठमाडौँ जाने बसमा चढिन्। उनको एउटा खुट्टा नचल्ने भएकोले गाडीमा ओर्लन र उक्लिन अरूको मद्दत लिनुपर्थ्यो। सहयोग गर्ने बहानामा चालकले उनलाई दुर्व्यवहार गरे। बिच बाटोमा गाडी रोकिएपछि यात्रुहरू सबै ओर्लिन्थे। उनलाई भने अगाडि बसेको चालककै सहारा लिएर ओर्लिनुपर्थ्यो।

उनलाई ओराल्ने बहानामा चालकले यौन आशयले ढाड, कम्मर, छाती जहाँ मन लाग्यो त्यहीँ समात्थे। उनले यो दुर्व्यवहार अन्य यात्रुलाई समेत भन्न सकिनन्। घरमा पनि भन्न सकिनन्।

घरमा भन्दा हिँड्न नदेलान् भन्ने उनलाई डर थियो। हिंसा भएको नभन्दा पनि र भन्दा पनि आफूलाई हानी भएको उनले ओरेकको प्रतिवेदनमा बताएकी छन्।

डरलाग्दो प्रहरी तथ्याङ्क

लामो दूरीमा मात्रै होइन, छोटो दूरीका सार्वजनिक यातायातमा पनि यात्रुमाथि हुने यौन हिंसाको अवस्था डरलाग्दो देखियो। केही वर्षअघि ओरेकले गरेको एक अनुसन्धानले सार्वजनिक यातायातमा महिलामाथि धेरै हिंसा हुने गरेको देखाएको थियो।

नेपाल प्रहरीको तथ्याङ्कले पनि यही देखाउँछ। नेपाल प्रहरीका अनुसार सार्वजनिक यातायातमा अश्लील कार्य गर्ने, शारीरिक तथा यौनजन्य कार्य गर्ने, अपशब्द बोल्ने तथा गाली गलौच गर्नेलगायतका घटना हुने गरेका छन्।

नेपाल प्रहरीले उकेरालाई उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५-०७६ मा ३ सय ८४ जना पक्राउ परेका थिए। गत आर्थिक वर्षमा २ हजार ६ जना पक्राउ परे। यो आर्थिक वर्षको फागुनसम्म २ हजार ८ सय ६४ जना पक्राउ परिसकेका छन्।

आर्थिक वर्ष २०७५-०७६ मा ३ सय ८४ जना पक्राउ परेकोमा ६९ जनाविरुद्ध मुद्दा दर्ता गरेको प्रहरीले गत वर्ष १ सय १३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। चालु आर्थिक वर्षमा ७९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्य उजुरी घटनाको प्रकृति हेरेर मुद्दा दर्ता गरिने बताउँछन्।

"उजुरी आएका हिंसाको गम्भीरता हेरेर प्रहरीले दर्ता गर्छ। केही मिलापत्रमा पनि गएका छन्। केहीले 'भैगो छाडिदिऊ' भनेपछि पनि छुटेका छन्। त्यसैले दर्ता संख्या कम देखिएको हो," उनले भने।

यौन हिंसा ७८ प्रतिशतसम्म

एक अध्ययनको निष्कर्षअनुसार काठमाडौँ उपत्यकामा चल्ने सवारी साधनमा ६६ प्रतिशतभन्दा बढी महिला यात्रुमाथि यौन हिंसा हुने गरेको छ।

साइन्टिफिक अर्काइभमा उपलब्ध जर्नल लेखअनुसार ६६.५ प्रतिशत महिलाले सार्वजनिक यातायात चढ्दा यौन हिंसा भएको बताएका छन्।

दीपशिखा अर्याल, गरिमा जोशी, निर्मला रेग्मी र महेश्वर काफ्लेले "ह्यारेसमेन्ट एन्ड साइकोलोजिकल डिस्ट्रेस एमोङ योङ वुमन ट्राभिलिङ इन पब्लिक भेइकल डिस्क्रप्टिभ क्रस सेक्सनल स्टडी इन अ मेट्रोपोल्टियन सिटी नेपाल" शीर्षकमा २०८० मा अनुसन्धान गरेका थिए।

सो अनुसन्धानमा १ सय १७ जनालाई सोध्दा ६२ प्रतिशतले एक-दुई पटक सार्वजनिक यातायातमा यौन हिंसा भोगेको बताएका थिए। ७६ प्रतिशतभन्दा बढीले धेरै पटक यौन हिंसा भोगेको बताए।

धेरैजसोलाई संवेदनशील अङ्गमा छुने, असहज तरिकाले हेर्ने, अपशब्द बोल्ने र नजिकै आएर दुई-अर्थी शब्द बोल्ने गरेको खुल्यो।

२०१९ मा गरेको एक अनुसन्धानअनुसार काठमाडौँ उपत्यकामा ७८ प्रतिशतभन्दा बढीलाई यौन हिंसा हुने गरेको देखाएको थियो।

निर्मल गौतम, निर्मला सापकोटा, सरला श्रेष्ठ र दीपिका रेग्मीले गरेको अनुसन्धानमा २ सय ८० जनामा गरिएको अनुसन्धानमा २ सय १९ जनाले यौन हिंसा हुने गरेको बताएका थिए। यो भनेको ७८.२१ प्रतिशत हो।

यौन हिंसा हुने धेरै महिला अविवाहित थिए। ५३.८८ प्रतिशत अविवाहित महिलाले सार्वजनिक यातायातमा आफूमाथि यौन हिंसा भएको बताएका थिए। ४६.११ प्रतिशत विवाहित महिलाले यौन हिंसा हुने गरेको बताए।

अविवाहित महिलामध्ये ४२ प्रतिशतले भौतिक यौन हिंसा भएको बताए। भर्बल ह्यारेसमेन्ट भोग्ने १४ प्रतिशत र नन्-भर्बल हिंसा भोग्नेको संख्या ४३ प्रतिशत देखियो।

सो अध्ययनले धेरैजसो २५ वर्षमुनिका महिलाले सार्वजनिक यातायातमा धेरै यौन हिंसा भोग्ने गरेको देखियो।

कमाई आफ्नो, जिम्मेवारी अर्काको

उपत्यकामा चल्ने सार्वजनिक यातायातमा धेरै यौन दुर्व्यवहार हुने गरेको घटना बढेपछि प्रहरीले सेप्टी पिन अभियानसमेत सञ्चालन गरेको थियो। सेप्टी पिन अभियानमा प्रहरी आफैँ सार्वजनिक यातायात चढेर यौन हिंसामा संलग्नहरूलाई पक्राउ गरेको थियो।

प्रहरीले यो अभियानलाई निरन्तरता भने दिएको छैन। बेलाबखत मात्र सञ्चालन गर्छ। तैपनि सार्वजनिक यातायातमा हुने यौन हिंसाका घटना घट्न सकेको देखिएन।

नियन्त्रणका लागि सरकारले आचारसंहिता पनि बनाएको छ। सरकारले बनाएको यातायात आचारसंहितामा चालक तथा सह-चालकले यात्रुसँग शिष्ट भाषामा बोल्नुपर्ने, सवारी सञ्चालकहरूले चालक तथा परिचालकहरूलाई तालिम दिनुपर्ने, महिला तथा अपाङ्गता भएकालाई आरक्षित सिटमा राख्नुपर्ने, धूमपान र मद्यपान गर्न नहुने, क्षमताभन्दा बढी यात्रु राख्न नहुनेलगायतका सर्त राखिएको छ।

यसैगरी सफा र यात्रुमैत्री हुनुपर्ने, यात्रुलाई बाधा पुग्ने गरी अडियो भिडियो बजाउन नहुनेलगायतका २० बुँदा छन् आचारसंहितामा। तैपनि किन सार्वजनिक यातायातमा यौन हिंसाका घटना नियन्त्रित हुन सकेको छैन?

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर थरी थरीका यात्रु चढ्ने र धेरै यात्रु राख्नु आफूहरूको बाध्यता भएकाले यस्तो घटना हुने गरेको दाबी गर्छन्।

"सार्वजनिक यातायातमा होस् या अन्य बस तथा ट्रकहरू चलाउने हुन्, यसमा लाइसेन्स दिनेबाहेक सरकारले केही गर्दैन," उनले भने, "केही सरोकारवाला अथवा अन्यले यसबारे चालकलाई तालिम दिनुपर्ने हो। तर दिएको देखिँदैन। गाडी चलाउन जान्नु मात्रै पूर्णरूपमा चालक हुनु होइन। यात्रुलाई सुरक्षित र मर्यादित बनाउनु पनि हो।"

सरकारको आचारसंहिताबारे उनले यो पालना गराउन सक्ने क्षमता नै नभएको दाबी गर्छन्।

"धेरैजसो चालक र सहचालकले औपचारिक शिक्षा नै लिएका छैनन्," उनले भने, "निजी व्यवसायीले मात्र संहिता कार्यान्वयन गर्न सक्दैन। सरोकारवाला निकायले तालिम दिनुपर्छ। यसमा व्यवसायीले भन्दा पनि अन्यले ख्याल गर्नुपर्ने देख्छु।"

श्रृंखलाका अन्य सामग्री

वैशाख १६, २०८२ मंगलबार १९:५२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।