व्यावसायिक कृषिमा ड्रोनको प्रयोगः खेतीमा लागत घट्यो, उत्पादन बढ्यो

व्यावसायिक कृषिमा ड्रोनको प्रयोगः खेतीमा लागत घट्यो, उत्पादन बढ्यो

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका-६ का आसरेराम वडायकले व्यावसायिक कृषिमा प्रविधिको प्रयोग गर्दै खेतीमार्फत करोडौं रुपैयाँ कमाएका छन्।

झण्डै एक दशकअघि वैदेशिक रोजगारीका लागि काठमाडौँ गएका वडायकको जीवनको मोड त्यतिबेला बद्लियो जब उनले काठमाडौँमा रहेको एक पोलिहाउसमा टमाटरखेती देखे। लगत्तै गाउँ फर्किएर आधा कठ्ठा जमिनमा तीनवटा पोलिहाउस बनाएर टमाटरखेती गरे। खेतीबाट फाइदा भएन, तालिम लिन भारतको पन्तनगर गए। त्यसपछि शुरू भयो उनको व्यवसायको नयाँ चरण। 

त्यो समयदेखि कृषि क्षेत्रमै रहेका वडायकले हालसम्म खेतीबाटै रु एक करोडभन्दा बढीको कृषियन्त्रहरू जोडिसकेका छन्। उनको वार्षिक आम्दानी रु २६ लाखसम्म छ। हाल उनी आफ्नै र भाडामा लिएको गरी कुल नौ बिघा जमिनमा उखु, तोरी, मुसुरो र धान खेती गर्दै आइरहेका छन्। ‘खेती विस्तार गरेर वार्षिक रु एक करोडसम्म कमाउने लक्ष्य राखेको छु,’ वडायकले भने।


खेतीलाई व्यावसायिक बनाउन वडायकले अत्याधुनिक उपकरण प्रयोग गर्दै आएका छन्। उनले गत वर्ष मात्र रु १० लाख खर्च गरेर ड्रोन खरिद गरेका छन्। ‘ड्रोनको प्रयोग खेतीमा सहज हुने भएकाले गत वर्ष मात्रै रु दश लाखमा ड्रोन खरिद गरेको छु,’ उनले भने।

ड्रोन प्रविधिको प्रयोगले खेतीमा लागत घटाउनुका साथै उत्पादनमा वृद्धि भएको वडायकको अनुभव छ। ‘ड्रोनको प्रयोगले विषादी छर्किंदा मानिसले भन्दा राम्रो छर्किने र किसानको स्वास्थ्यमा विषादीले पनि असर गर्दैन,’ उनले भने।

वडायकले भारतका विभिन्न सहरमा पुगेर व्यावसायिक खेतीसम्बन्धी तालिमसमेत लिएका छन्। ‘दुई वर्ष भारतको साझनपुरमा उखुखेतीसम्बन्धी तालिम लिएँ, महाराष्ट्रको साङ्लीमा व्यावसायिकखेतीको तालिम लिएर यहाँ आएपछि खेतीमा सजिलो भयो,’उनले भने।

उनले खेतबारीमा बीउ बिउझाउनेदेखि विषादी छर्ने काममा समेत ड्रोन प्रयोग गर्दै आएका छन्। खेतीमा उनको परिवारको समेत साथ छ। सिजनको बेला उनले ३० देखि ४० जनासम्मलाई रोजगारी दिने गरेका छन्।

‘सामान्य किसानले एक बिघा जमिनमा रु दुईदेखि तीन लाखसम्मको उत्पादन गर्ने गरेकामा मैले एक बिघामा करिब रु १४ लाख सम्मको उत्पादन गर्ने लक्ष्य लिएको छु,’ वडायकले बताए, ‘प्राविधिक कुरामा मात्रै ध्यान दिन सके राम्रो उत्पादन हुन्छ।’ उत्पादनपछि बजारको कुनै समस्या नभएको पनि उनले स्पष्ट पारे।

वडायक सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेशकै सर्वोत्कृष्ट कृषकको रुपमा सम्मानीत भएका छन्। यस्तै, भीमदत्त नगरपालिकाले पनि उनलाई उत्कृष्ट किसानको रुपमा सम्मान गरिसकेको छ।

खेती अझ सहज र वैज्ञानिक बनाउन वडायक अहिले मोबाइल एप विकासको तयारीमा छन्। ‘अहिले खेती गर्न थप सजिलो होस् भनेर मोबाइल ‘एप लन्च’ गर्ने तयारीमा छु,’ उनले भने, ‘त्यो एपबाट कुन समयमा मल हाल्ने, कुन रोगबाट कसरी बच्ने लगायतका पूर्वजानकारी पाउन सकिन्छ।’

पछिल्लो समय कृषिमा यान्त्रिकीकरणको प्रयोग बढ्दो छ। गोरु र राँगाको ठाउँमा ट्र्याक्टर, मिनिटिलर, पावर टिलरको प्रयोग भइरहेको छ भने, ‘रिपर’, ‘बुस कटर’, ‘कम्बाइन हार्भेस्टर’ जस्ता उपकरणमार्फत बाली काट्ने प्रविधिको प्रयोग व्यापक हुँदै गएको छ। यसरी प्रविधिको सहयोगले कृषिमा नयाँ सम्भावनाको ढोका खोलिएको देखिन्छ।

वैशाख १६, २०८२ मंगलबार १५:५८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।