नाटक ‘मिरा’को रिहर्सलमा व्यस्त अभिनेत्री रेखा, भन्छिन्,‘यो मेरो दोस्रो अध्याय’

नाटक ‘मिरा’को रिहर्सलमा व्यस्त अभिनेत्री रेखा, भन्छिन्,‘यो मेरो दोस्रो अध्याय’
तस्बिर : कान्तिपुर फिल्म एकेडेमी

काठमाडौं : अभिनेत्री रेखा थापा नाटक अभिनयमा लागेकी छिन्। उनी नाटक ‘मिरा’मा अभिनय गर्न लागेकी हुन्। जेठ १५ गतेबाट मञ्चन हुने नाटकको रिहर्सलमा अहिले उनी व्यस्त छिन्।

सोमबार नाटक रिहर्सलमा भेटिएकी रेखाले उकेरासँगको कुराकानीमा नाटकमा अभिनय आफ्नो दोस्रो अध्याय भएको बताइन्।

‘मैले यसअघि नाटकमा अभिनय गरेको थिइनँ। हेरेको मात्रै छु। त्यसैले नाटक मेरो अभिनयको दोस्रो अध्याय हो,’ उनले भनिन् ‘मेरो मनमा कहिँकतै कुनै दिन राम्रो नाटकमा खेल्ने अवसर जुर्यो भने गर्ने मन थियो। अहिले मिरामा जुरेको छ।’

उनले ‘मिल्क टी’,‘शकुन्तलाको औँठी’ लगायत नाटक हेर्दा कलाकारले ठुलो स्वरमा बोलेको देख्दा ठुलो स्वरमा किन बोलेका होला भन्ने लागेको रहेछ। उनी अहिले आफैँ नाटकको रिहर्सल गर्दा बल्ल बुझ्दैछिन् फिल्म र मञ्चमा अभिनय गर्दाको भिन्नता।

गत वर्ष फागुनमा फिल्म ‘उपहार’ प्रदर्शनमा आए पनि व्यावसायिक रूपमा सफल भएन। अब नाटकमार्फत अभिनय निखार्न आएको हो भन्ने जिज्ञासामा उनले आफ्नो ट्यालेन्ट देखाउनका आएको बताइन्।

कान्तिपुर फिल्म एकेडेमीका प्रमुख प्रकाश पुरीले उपन्यासको पात्र ‘मिरा’ सुहाउँदो र यसलाई अभिनय गर्न सक्ने क्षमता रेखामा भएकाले लिएको बताए।

‘मिरा भन्ने पात्र एउटा १७–१८ वर्षको र अर्को ३८–४० हाराहारी उमेरको हो। यो मिरा पात्र भनेको एउटा बगाले थापा नामकी मिरा हो। उनको भूमिकामा कसलाई लिने भन्ने चर्चा चलिरहेको थियो। हाम्रो टिममा छलफल चलिरहँदा रेखा सुहाउँछ भन्ने भयो अनि उहाँले उपन्यास पढेपछि मान्नु पनि भयो’ उनले भने।

मिरा उपन्यासमा दीपक सिंजालीले लेखेका हुन्। उनी पोखराका हुन्। पुरीले लेखकसँग सम्झौता गरेर नाटक तयार पारेको बताए।

‘मिरा’ उपन्यासलाई नाट्य रूपान्तरण तथा निर्देशन सुन्दर धितालले गर्दैछन्। उनी कान्तिपुर एकेडेमीकै विद्यार्थी हुन्। उनले यसअघि फिल्म ‘रङेली’मा अभिनय गरेका थिए।

वैशाख १६, २०८२ मंगलबार १४:२५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।