१६ वर्षीया गर्भवतीको हेलिकोप्टरबाट उद्धार

१६ वर्षीया गर्भवतीको हेलिकोप्टरबाट उद्धार

सिमकोट : सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेकी १६ वर्षीया किशोरीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। 

सुत्केरी हुन डेढ महिना बाँकीको समय हुँदै गरेकी गर्भवती पुष्पा बोहरा भण्डारीको मंगलबार बिहान सदरमुकाम सिमकोटबाट जिल्लाबाहिर उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले बताइन्। आइतबारदेखि एक्कासि उच्च रक्तचाप भएपछि जिल्लामा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा ‘रेफर’ गरिएको प्रमुख भारतीले जानकारी दिइन्। 
   
प्रसवव्यथा लागेकी भण्डारीको जिल्ला अस्पतालमा जाँच गर्दा उच्च रक्तस्राव मात्रै नभएर पेटमा रहेको बच्चाको बसाइ ठाडो हुनुपर्नेमा तेर्सो भएको र बच्चाको टाउको अगाडि हुनुपर्नेमा साल अगाडि भएकाले जिल्लामा उपकरण, औजारलगायत दक्ष जनशक्ति अभावले जिल्लाबाहिर सुर्खेत उद्धार गरिएको हो। भण्डारीलाई ‘अप्रेसन’ गर्नुपर्ने अवस्था आएको हुनाले सुविधासम्पन्न अस्पताल सुर्खेत पठाइएको हो। 
       
भण्डारीको उद्धारमा जिल्ला अस्पताल हुम्लाको सिफारिसमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कोष कार्यक्रमबाट उद्धार गरिएको हो।

हेलिकोप्टरमा उद्धार गरी सुर्खेत पुर्याएलगत्तै उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।  

वैशाख १६, २०८२ मंगलबार १४:२२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।