शिक्षकहरूका विषयमा सरकार गैर जिम्मेवार बनेको विपक्षीको आरोप

काठमाडौं : शिक्षक आन्दोलन सम्बन्धी विषयलाई कार्यसूचीमा नराखेको भन्दै प्रतिनिधिसभाको बैठकमा प्रतिपक्ष दलका सांसदहरुले विरोध गरे।
मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले शिक्षा जस्तो अत्यन्तै जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न प्रस्ताव गरे पनि नराखिएको भन्दै आपत्ति जनाए।
सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा कार्यसूचीमा राख्न नसकेको जवाफ पाएको भन्दै सरकार जनताप्रति र सदनप्रति गैर जिम्मेवार भएको उनले बताए।
‘शिक्षकहरू लामो समयदेखि सडकमा हुनुहुन्छ। शिक्षा जस्तो अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न हामीले प्रस्ताव गरेको थियौँ,’ उनले भने ‘तर सरकारको तर्फबाट मन्त्रीले समय दिन नसक्दा नराखिएको जवाफ पायौँ। सरकार जनताप्रति र सदनप्रति कति गैर जिम्मेवार छ।’
वैशाख १६, २०८२ मंगलबार १३:३४:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।