राष्ट्र बैंकले अर्थतन्त्रमा चुनौती देख्दा अर्थ मन्त्रालय भन्छ ‘गति लियो’

काठमाडौं : अर्थतन्त्रको वर्तमान अवस्था कस्तो छ भन्नेबारे अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचकै धारण फरक देखियो। अर्थ मन्त्रालयले प्रकाशित गर्ने अर्थ बुलेटिनमा नेपालको समग्र अर्थतन्त्र सुधार हुँदै गएको दावी गरिएको छ। उता नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा अझै चुनौती कायम रहेको उल्लेख गरेको छ।
अर्थतन्त्रले गति लिनुको कारण खुलाउँदै अर्थ बुलेटिनले अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सबल रहेको र आन्तरिक सूचकहरू सुधार हुँदै गएको दाबी गरेको छ।
उता नेपाल राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सवमा कामु गभर्नर निलम ढुंगानाले बैंकमा पैसा थुप्रिएको न्यून ब्याजदर भएता पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह हुन नसकेकाले अर्थतन्त्रका चुनौतीहरू कायमै रहेको बताइन्।
‘आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भएको छ। उच्च तरलता एवम् न्यून ब्याजदरका बाबजुद पनि निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवम् आन्तरिक मागमा अपेक्षित सुधार हुन सकेको छैन,’ढुंगानाले भनिन्,‘ पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु अनि सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू कायम नै रहेका छन्।’
सरकारले नै निकालेको दुई निकायको प्रतिवेदन हेर्ने हो भने मूल्य वृद्धि, व्यापार घाटा अनि लगानी बढ्न नसकेको देखिन्छ तर अर्थले प्रकाशित गरेको बुलेटिनमा अर्थतन्त्रले गति लिएको सूचकहरू सबल रहेको दाबी गरिएको छ।
बुलेटिनमा अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ छन् भने आन्तरिक सूचकहरूमा सुधार हुँदै गएकाले समग्र अर्थतन्त्र गति लिएको दाबी छ।
त्यसमा पछिल्लो समय विश्व अर्थतन्त्रमा देखिएका नयाँ आयामलाई बेवास्ता गरेको देखिएको छ। राष्ट्र बैंकले बाह्य कारणले गर्दा मुद्रास्फीति, वैदेशिक सहायता एवम् बाह्य क्षेत्र व्यवस्थापनमा चुनौती थपिने देखिएको बताएको छ।
बुलेटिनमा आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म संघीय सरकारको राजस्व परिचालन १२.७ प्रतिशत र कुल खर्च ४.९४ प्रतिशतले वृद्धि भएको बताएको छ। सार्वजनिक ऋण २०८१ असार मसान्तको तुलनामा ९.९ प्रतिशतले वृद्धि भएको उल्लेख छ।
व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या बढेको र करको दायरा विस्तार भएको दाबी गरिएको छ बुलेटिनमा। मूल्यवृद्धि ३.७५ प्रतिशत मात्रै रहेको तथ्याङ्कमा उल्लेख छ।
अर्थतन्त्र सुधार तर्फ गएको भनेको अर्थ बुलेटिनले गत वर्षको तुलनामा व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भएको बताएको छ। केही निर्यात प्रतिशत बढे पनि निर्यातको आकार सानो हुँदा व्यापार घाटा भएको तर्क गरिएको छ।
स्वदेशमै रोजगारी सिर्जना गर्ने सरकारले बताए पनि सरकारले स्वदेशमै कति प्रतिशत रोजगारी सिर्जना गर्न सकियो भन्ने बुलेटिनमा उल्लेख छैन बरु वैदेशिक रोजगारमा नयाँ श्रम स्वीकृति लिई जाने कामदार तथा पुनः श्रमस्वीकृती लिने कामदारको संख्या समेत गत वर्षको तुलनामा वृद्धि भएको उल्लेख गरेको छ।
रेमिटेन्स आप्रवाहमा ९.४ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको बुलेटिनले पर्यटन आगमनमा १.९ प्रतिशतले मात्रै वृद्धि भएको बताएको छ। विदेशी मुद्रा सञ्चिति बढेको र चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको बुलेटिनमा उल्लेख छ।
वैशाख १६, २०८२ मंगलबार १३:२३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।