भुठान : शरणार्थीको कथामा धर्मको राजनीति

हरिवंश आचार्यको पहिचानै हास्य कलाकार हो तर उनको छवि पुरै भत्किएको छ फिल्म भुठानमा। बलिदान बाहेक यस अगाडिका उनको अभिनयसँग भुठानको अभिनय दाँज्ने हो भने छक्क पार्छन् उनले।
हरिवंशभित्रको नयाँ अभिनय सीप पोख्न सफल भएका छन् निर्देशक। उनको अभिनय यात्रामा यो बलिदानपछिको उत्कृष्ट फिल्म हो भन्दा फरक पर्दैन।
फुटबलर विष्णु बहादुर केसीमार्फत देश गुमाएर अमेरिका पुगेका भुटानी शरणार्थीको भावनात्मक यात्राको कथा भन्छ भुठानले। आफ्नै देशको माटोमा मर्न चाहने विष्णुको भावनात्मक सङ्घर्ष वरिपरि घुमेको छ फिल्म।
नेपालमा रिलिज भइरहेका फिल्मको तुलनामा यो फरक धारको फिल्म हो। यसमा हाँसो छैन। रोदन मात्रै छ। स्याड टोनको बाहुल्यता छ फिल्ममा।
भुटानको राष्ट्रिय टिममा बसेर फुटबल खेलेका विष्णु भुटानबाट लखेटिएर नेपाल हुँदै आप्रवासन अनुसार अमेरिका पुगे।उनको हातमा संसारकै शक्तिशाली राष्ट्र मानिने अमेरिकाको पासपोर्ट छ। तर आफू जन्मिएको देश भुटान जान सक्दैनन्। उनी आफ्नो मृत्यु अगाडि भुटानको माटो छुन लालायित छन्। हातमा अमेरिकी पासपोर्ट हुँदाहुँदै पनि उनले भुटान जाने भिसा पाउँदैनन्।
भुटानको माटो छुने विष्णुको प्रयास सफल हुन्छ या हुन्न? फिल्मको मूल कथा यही नै हो।
निर्देशक विनोद पौडेलले मूल पात्र विष्णुमार्फत फिल्मलाई दुई कोणको द्वन्द्व निर्माण गरेर कथा प्रस्तुत गर्ने प्रयास गरेका छन्। उनले दुई देश पस्किए अमेरिका र भुटान। मूल पात्र विष्णु अमेरिकामा बस्छन् तर उनको मन मन भुटानमा छ।
उनी सपनामा आमासँग कुरा गर्छन् र बिपनामा भुटान जान सङ्घर्ष गर्छन्। उनको दुई जना श्रीमती छन्, एक बाहुन समुदायको र अर्को तामाङ समुदायको। अनि धर्म पनि दुई वटा छ हिन्दु अनि इसाई।
देश गुमाएर अमेरिका पुगेका अनि देश हुँदाहुँदै अमेरिका पुगेकाको पनि कथा मिसाएका छन् निर्देशकले। पारिवारिक कथा मिसिएको छ, रोदन छ, आवेग छ। दुखै दुख छ फिल्ममा।
बलियो पक्ष
फिल्मको सबैभन्दा बलियो पक्ष पात्रहरूको अभिनय हो। हरिवंश जत्तिको पाको कलाकारदेखि अदिति प्याकुरेल जस्ता नयाँ कलाकारसम्मको अभिनय जीवन्त देखिन्छ भुठानमा।
फिल्ममा कतै पनि हरिवंश आचार्य देखिँदैनन्, फिल्म भरि देखिन्छन् र भुटानका राष्ट्रिय फुटबल प्लेयर विष्णु। वाह लायक काम गरेका छन् उनले
दयाहाङ राईदेखि ऋचा घिमिरेसम्मको अभिनय जीवन्त देखिएको छ। फिल्म हेरिरहँदा सक्कली पात्रहरूकै अनुभव गराउन निर्देशक सफल भएका छन्।
फिल्मको कथ्य संरचना बलियो र नौलो देखिन्छ। निर्देशकले फिल्मलाई निकै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ।
छायाङ्कनमा निकै मिहेनत गरिएको देखिन्छ फिल्ममा। केही दृश्यहरू पेन्टिङ जस्तै सुन्दर देखिएका छन्। ब्याक ग्राउन्ड म्युजिकले दर्शकलाई फिल्ममा कनेक्ट गराउने प्रयास गरेको छ।
फिल्ममा सुनिइरहने ट्रेनको आवाजले दर्शकलाई अलग अनुभव गराउँछ। कला प्रयोग गर्न जान्ने हो भने नाङ्गिएको दृश्य पनि अश्लील लाग्दो रहेनछ। फिल्ममा हरिवंश नाङ्गिएको दृश्य छ। तर हलमा दृश्य हेरिरहँदा असहज लाग्दैन। प्रप्सहरुको प्रयोग कुशलतापूर्वक गरिएको छ।
फिल्मले जहाँ जहाँ अंग्रेजी संवाद मागेको छ त्यही भाषाको प्रयोग गरिएको छ। नेपालीमा सबटाइटल राखिएको छ। कलर ग्रेडिङ निकै राम्रो छ।
कमजोर पक्ष
सुस्त गतिको कथा नै यो फिल्मको सबैभन्दा कमजोर पक्ष हो। सुस्त स्क्रिनप्लेका कारण दर्शकलाई फिल्मको कथाभित्र प्रवेश गर्न अलि कठिनै हुन्छ। पहिलो हाफको तुलनामा दोस्रो हाफको गति थप सुस्त छ।
फिल्ममा केही अनावश्यक दृश्यहरू राखिएको छ। ती दृश्यको अर्थ नै देखिन्न फिल्ममा। जस्तो धर्म बदलेर हिन्दुबाट इसाई भइसकेका व्यक्तिको मृत्यु हुँदा जलाउने गाड्ने भनेर भएको विवादको अर्थ के हो?
ऋचा र उनको श्रीमानबिच बच्चा जन्माउने वा नजन्माउनेबारे भएको बहसको दृश्यको फिल्मको कथासँग के सम्बन्ध छ? देखिँदैन।
सबैभन्दा खराब पक्ष फिल्ममार्फत निर्देशकले हिन्दु र इसाई धर्मका प्रसङ्गहरू देखाएर धर्ममाथि राजनीतिको प्रयास गरेका छन्।
फिल्म हेरिरहँदा निर्देशकले दुवै धर्मलाई समानान्तर रूपमा अगाडि बढाउनु भन्दा हिन्दु धर्मलाई होच्याउने प्रयास गरेको अनुभव गराउँछ फिल्मले। यो पक्षमा निर्देशकको इमानदारिता देखिएन।
नवराज पराजुलीको शब्द रचनामा बनेको ‘कागजको खोस्टो’ बोलको गीत फिल्ममा हुनु र नहुनुमा खासै फरक पर्ने देखिन्न। गीतको भाव अनुसारको छायाङ्कन नमिलेको अनुभव हुन्छ।
पछिल्लो समय फिल्महरूमा यौनिक अल्पसङ्ख्यकहरू कुनै न कुनै रूपमा जोडिने गरेको छ। तर त्यसको फिल्मको मूल कथासँग बलियो सम्बन्ध देखिँदैन। यसमा पनि त्यस्तै उपकथा जोडेका छन् निर्देशकले।
निर्देशकले भुठानले भुटानी शरणार्थीहरूको समस्यालाई बलियो रूपमा उठाउने प्रयास गरेका छन्। तर उनले शरणार्थीको कथा भन्दै गर्दा धर्ममाथि अनावश्यक राजनीतिक गरेको अनुभव हुन्छ।
भुटानी शरणार्थीको कथा भन्ने क्रममा निर्देशकले जुन रूपमा हिन्दु र इसाइलाई जोडेका छन् त्यसले निर्देशकको नियत सफा देखाएन। दूषित मनसाय देखियो फिल्ममा।
वैशाख १६, २०८२ मंगलबार १३:०८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।