नवराजहरूको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै धर्ना

नवराजहरूको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै धर्ना

सुर्खेत : २०७७ जेठ १० गते अन्तर्जातीय प्रेमको विषय बनाएर मारिएका २१ वर्षीय नवराज विकसहित ६ जनाको हत्यामा संलग्नहरूलाई कानुनी कारबाहीको माग राख्दै उच्च अदालत सुर्खेतमा दलित अधिकारकर्मी र मृतकका आफन्तहरूले धर्ना दिएका छन्।

नवराजसँगै गएका २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाही सो घटनामा मारिएका थिए। उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो। २०८० मंसिर १९ गते जिल्ला अदालत रुकुम पश्चिमका तत्कालीन जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। त्यस्तै नवराजकी प्रेमीका, उनकी आमा र दाईलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो। आठ जनाले भने सफाइ पाएका थिए।

जिल्लाको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले पनि पुनरावेदन निवेदन दायर गरेका थिए।

२०८२ वैशाख ९ गते उच्च अदालत सुर्खेतमा दायर २६ वटा पुनरावेदन निवेदनमाथि सुनुवाइ दुई दिनमा सकिएको थियो।

न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा सुनुवाइ भएको उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो।

अदालतले वैशाख १५ गते सोमबार उक्त मुद्दाको पेसी तोकेको थियो। दुवै पक्षका वकिलहरूको बहस नसकिएका कारण सोमबार पनि हेर्दाहेर्दैमा रहेको उच्च अदालत सुर्खेतका प्रवक्ता उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए।

नवराजकी आमा उर्मिला विश्वकर्माले छोराको हत्यामा संलग्नहरूलाई उन्मुक्ति दिन नहुने बताइन्।

‘छोराको हत्यामा संलरुग्नहरुलाई कुनै पनि हालतमा अदालतले छोड्नुहुन्न। रुकुम अदालतले गरेको फैसला अनुसार उच्चमा पनि त्यसको कार्यान्वयन होस्,’ उर्मिलाले भनिन्, ‘छोरो मरे पनि न्याय नमरोस्।’

हत्या भएको दिनदेखि नै विभिन्न व्यक्ति र राजनीतिक दलले गरेको चलखेलले गरिरहेको लोकेन्द्रकी आमा लक्ष्मी सुनारले बताइन्।

‘रुकुम अदालतले न्याय दिएको थियो । सोही अनुसार उच्चले पनि हाम्रो न्याय नमारोस्,’ उनले भनिन्, ‘ठुला–ठुला मान्छेहरू केही मान्छेहरूलाई बचाउन लागिरहेका छन्। तर कुनै हालतले न्याय नमरोस्।’ 

वैशाख १६, २०८२ मंगलबार ११:११:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।