स्पेन र पोर्चुगलमा ब्ल्याकआउट : ट्राफिक प्रणाली बन्द हुँदा अस्तव्यस्त सडक, मोबाइल नेटवर्क र रेलवे सेवा ठप्प

स्पेन र पोर्चुगलमा ब्ल्याकआउट : ट्राफिक प्रणाली बन्द हुँदा अस्तव्यस्त सडक, मोबाइल नेटवर्क र रेलवे सेवा ठप्प

एजेन्सी : युरोपेली देशहरू स्पेन र पोर्चुगलमा ठूलो मात्रामा विद्युत् कटौती भएको छ।

समाचार एजेन्सी एसोसिएटेड प्रेसले यी देशका राजधानीहरूमा पनि बिजुली आपूर्ति बन्द भएको रिपोर्ट गरेको हो। फ्रान्सका केही शहरहरू पनि यस ब्ल्याकआउटबाट प्रभावित भएका छन्।

स्पेनको सरकारी विद्युत कम्पनी रेड इलेक्ट्रिकाले विद्युत आपूर्ति पुनर्स्थापित गर्न काम गरिरहेको र हाल ब्ल्याकआउटको कारणहरूको विश्लेषण गरिरहेको बताएको छ।

ग्रिड अपरेटरले भने, ‘यो समस्या समाधान गर्न सबै स्रोतहरू परिचालन गरिँदैछ।’

स्पेनको राष्ट्रिय रेलवे कम्पनी रेन्फेले स्थानीय समय अनुसार राति १२:३० बजे देशको "सम्पूर्ण राष्ट्रिय विद्युत ग्रिड काटिएको" बताएको बीबीसीले जनाएको छ।

रेन्फेले रेलहरू रोकिएको र कुनै पनि स्टेशनबाट कुनै पनि रेल आइपुगेको वा छुटेको नभएको बताए।

बिजुली आपूर्ति बन्द हुँदा वार्षिक क्ले कोर्ट टेनिस प्रतियोगिता म्याड्रिड ओपन पनि प्रभावित भयो र खेल रोक्नु पर्यो। खेल रोकिएका कारण बेलायती टेनिस खेलाडी ज्याकब फर्नली कोर्टबाट बाहिर निस्कन बाध्य भए।

बिजुली अवरुद्ध हुँदा प्रतियोगिताको स्कोरबोर्ड प्रभावित भयो र कोर्ट माथि जडान गरिएका क्यामेराहरूले काम गर्न छाडे। स्पेन र पोर्चुगलमा यति व्यापक विद्युत कटौती दुर्लभ हो।

स्पेनको सार्वजनिक प्रसारक आरटीभीईले स्थानीय समय अनुसार दिउँसो १२:३० बजे देशका धेरै क्षेत्रहरूमा ठूलो विद्युत आपूर्ति बन्द भएको बताएको छ, जसले गर्दा यसको समाचार कक्ष, म्याड्रिडमा रहेको स्पेनी संसद र देशभरका मेट्रो स्टेशनहरू अन्धकारमा परेका छन्।

१ करोड ६ लाख जनसंख्या भएको पोर्चुगलमा विद्युत आपूर्ति अवरुद्ध हुँदा राजधानी लिस्बन र वरपरका क्षेत्रहरू साथै देशको उत्तरी र दक्षिणी भागहरू प्रभावित भए।

पोर्चुगिज अखबार एक्सप्रेसोका अनुसार पोर्चुगिज बिजुली वितरक ई-रेड्सले ‘युरोपेली बिजुली प्रणालीमा समस्या’का कारण बिजुली अवरुद्ध भएको बताएको छ।

एक्सप्रेसोका अनुसार कम्पनीले नेटवर्क पुनर्स्थापित गर्न केही क्षेत्रहरूमा बिजुली काट्नु परेको बताएको छ। ई-रेड्सले फ्रान्सका केही भागहरू पनि प्रभावित भएको उल्लेख गरेको छ।

बिजुली अवरुद्ध हुँदा मोबाइल नेटवर्कले पनि काम गर्न छोडेको छ। केही रिपोर्टहरूले लिस्बन सबवे बन्द भएको बताएका छन्। शहरका ट्राफिक बत्तीहरूले पनि काम गर्न छोडेका छन।

अहिले पनि बत्ती फर्काउने क्रम जारी छ। स्पेनका अधिकांश स्थानमा बत्ती फर्किसकेको छ भने पोर्चुगलमा अझै पनि फर्काउने क्रम जारी छ।

वैशाख १६, २०८२ मंगलबार ०७:४१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।