शिक्षकसँगको वार्ता निष्कर्षनजिक पुगेको सरकारको दाबी, महासंघ भन्छ- ‘धेरै कुरा टुङ्ग्याउन बाँकी छ’

शिक्षकसँगको वार्ता निष्कर्षनजिक पुगेको सरकारको दाबी, महासंघ भन्छ- ‘धेरै कुरा टुङ्ग्याउन बाँकी छ’

काठमाडौं : सरकारले आन्दोलनरत शिक्षक महासंघसँगको वार्ता निष्कर्षनजिक पुगेको दाबी गरिरहँदा शिक्षक महासंघले भने धेरै कुरा टुङ्ग्याउन बाँकी रहेको बताएको छ।

सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सोमबार राति भएको वार्तापछि सञ्चारकर्मीसँग बोल्दै शिक्षा मन्त्री रघुजी पन्त र महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यस्तो बताएका हुन्।

वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए। महासंघसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने उनको भनाइ थियो। उनले कक्षा १२ को परीक्षा गर्ने लाइनमा आफूहरू रहेको उनले बताए।

उनले भने, ‘केही विषय टुङ्गो लगाउन बाँकी छ। वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ।’

महासंघ अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए। उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन स्थगित गर्ने बताए।

उनले भने, ‘धेरै विषयहरूमा छलफल हुन बाँकी छ। केही विषयहरूमा छलफल भयो। हामी छलफल र संवादसँगै आन्दोलनमा पनि छौँ। वार्ताबाट निकास निस्केपछि मात्र आन्दोलन रोकिन्छ।’

मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो।

विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन्।

वैशाख १६, २०८२ मंगलबार ०७:२३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।