सोती घटनाको पुनरावेदनमाथि अदालत भित्र सुनुवाइ, बाहिर पीडित पक्षको धर्ना

सुर्खेत : २०७७ साल जेठ १० गते अन्तर्जातीय प्रेम सम्बन्धका कारण नवराज विकसहित ६ युवाको सामूहिक हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै पीडित पक्षले उच्च अदालत सुर्खेत अगाडि धर्ना दिएका छन्।
सोमबार अदालत भित्र सुनुवाइ चलिरहेका बेला दलित अधिकारकर्मी र पीडितका आफन्तहरूले ‘समाजले नवराजलाहरूलाई मार्यो, अदालतले न्याय नमारोस्’, ‘नवराजहरूसँगका हत्यारा छोड्न पाइँदैन’ जस्ता प्लेकार्डसहित धर्ना दिएका थिए।
२१ वर्षीय नवराज विकसँगै टीकाराम नेपाली, गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीको पनि घटनामा ज्यान गएको थियो। ती सबैको शव भेरी नदीमा फेला परेको थियो।
०८० मंसिर १९ गते जिल्ला अदालत रुकुम पश्चिमका तत्कालीन न्यायाधीश खड्क बहादुर केसीको इजलासले तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। साथै, नवराजकी प्रेमिका, उनकी आमा र दाइलाई जातीय छुवाछूतको अभियोगमा दुई वर्ष कैद सजाय सुनाइएको थियो। त्यही फैसलामा आठ जना अभियुक्तले सफाइ पाएका थिए।
जिल्ला अदालतको फैसलाविरुद्ध डम्बरबहादुर मल्लसहित २४ जनाले उच्च अदालतमा पुनरावेदन दायर गरेका छन्। मृतक नवराजका बुबा मुनलाल नेपालीले पनि दुईवटा पुनरावेदन निवेदन दिएका छन्। यी सबै २६ वटा पुनरावेदन निवेदनमाथि उच्च अदालत सुर्खेतमा ०८२ वैशाख ९ गतेबाट दुई दिनसम्म सुनुवाइ भएको थियो।
न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको यो मुद्दा हाल ‘हेर्दा हेर्दै’ मा राखिएको छ। अदालतले वैशाख १५ गते सोमबारका लागि मुद्दाको पेसी तोकेको भए पनि दुबै पक्षका वकिल र सरकारी वकिलहरूको वहस नसकिएकोले सोमबार पनि सुनुवाइ टुंगिएन।
उच्च अदालत सुर्खेतका प्रवक्ता उपरजिष्ट्रार प्रेमप्रकाश थापाका अनुसार, ‘मुद्दामाथि सुनुवाइ भइरहेको छ। दुबै पक्षका वकिल र सरकारी वकिलको वहसका कारण सोमबार पनि वहस सकिएन,’ उनले भने, ‘एक–दुई दिनमा वहस सकिनेछ।’
मुद्दामाथिको सुनुवाइ सोमबार पनि सोही इजलासमा जारी रहेको थियो।
मृतक नवराज विककी आमा उर्मिला विश्वकर्माले दोषीलाई कुनै हालतमा छुट दिन नहुने बताइन्। ‘छोराको हत्यामा संलग्नहरुलाई कुनैपनि हालतमा अदालतले छोड्नुहुन्न। रुकुम अदालतले गरेको फैसला अनुसार उच्चमा पनि त्यसको कार्यान्वयन होस्,’ उर्मिलाले भनिन्, ‘छोरो मरे पनि न्याय नमरोस्।’
सो घटनाको सुरुदेखि नै राजनीतिक हस्तक्षेप भइरहेको भन्दै मृतक लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनारले न्यायलाई प्रभाव पार्ने प्रयास भइरहेको आरोप लगाइन्।
‘रुकुम अदालतले न्याय दिएको थियो। सोही अनुसार उच्चले पनि हाम्रो न्याय नमारोस्,’ उनले भनिन्, ‘ठूला–ठूला मान्छेहरू केही मान्छेलाई बचाउन लागिरहेका छन्। तर कुनै हालतले न्याय नमरोस्।’
सोती घटनामा शुरू देखिनै आवाज उठाउँदै आएका दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारले मुद्दालाई सामान्य बनाउने प्रयास भए आन्दोलनमा जानुपर्ने चेतावनी दिए।
‘अहिले उच्च अदालतमा वहस भएको छ। हत्यामा संलग्नहरूका पक्षमा वकिलका लाइनका लाइन छन्। तर नवराजहरूमाथि भएको अन्यायका पक्षमा बोल्ने वकिल पाउनै मुस्किल छ,’ उनले भने, ‘सम्मानित अदालतले कुनैपनि हालतमा न्याय मर्न दिने छैन।’
वैशाख १५, २०८२ सोमबार २१:५२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।