खुम्बु क्षेत्रमा भारी हिमपात, हिउँले बाटो पुरिएपछि पर्यटक समस्यामा

खुम्बु क्षेत्रमा भारी हिमपात, हिउँले बाटो पुरिएपछि पर्यटक समस्यामा

सोलुखुम्बु : उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात भइरहेको छ। हिमपातका कारण पर्यटक र स्थानीयबासी प्रभावित भएका छन्।

खुम्बु क्षेत्रमा रहेका ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा गोक्यो क्षेत्रमा पर्यटक समस्यामा परेका छन्। ‘हिउँले बाटो पुरिएको छ, कतिपय पर्यटक समस्यामा परेका छन्, तर सङ्ख्या यकिन भइसकेको छैन,’ उनले भने। 

स्थानीयबासी साङ्गे शेर्पाले बेमौसमी हिमपातका कारण जनजीवनमा असर परेको बताए।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार एक अमेरिकी पर्यटक सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा ६३ वर्षीय अमेरिकी नागरिक वाइ मा रहेका छन्। ‘उहाँ गत बुधबार सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोस्टमा ‘इन्ट्री’ हुनुभएको थियो। त्यसपछि सम्पर्कमा आउनुभएको छैन,’ उनले भने। हिमपातका कारण खोजी गर्न समस्या भएको छ। 

हिमपातका कारण सगरमाथा आरोहण पनि प्रभावित भएको छ। अधिकांश आरोहीहरू आधार शिविरमै रोकिएका छन्। प्रशासन र सम्बन्धित निकायले प्रभावित क्षेत्रका पर्यटक तथा स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर उद्धार र व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ।

वैशाख १५, २०८२ सोमबार २१:२५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।