अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ, १७ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ११ वटा जिल्लाबाट अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत गैरकानुनी वित्तीय कारोबारको अभियोगमा पक्राउ गरिएको हो।
सीआईबीका अनुसार, आन्तरिक विप्रेषण (डोमेस्टिक रेमिट्यान्स) बन्द भइसकेको अवस्थामा पनि विदेशबाट प्राप्त रेमिट्यान्स रकमलाई आप्रवाहमा अवरोध पुर्याउँदै विभिन्न व्यक्तिहरू तथा समूहले अवैध कारोबारी गतिविधि सञ्चालन गरिरहेका थिए।
उक्त समूहले भन्सार छली, सुनको अवैध कारोबार, कर छली लगायत गतिविधिबाट प्राप्त रकमलाई नेपालमा सजिलो पे र पेवेल नेपाल प्रा.लि. नामका डिजिटल वालेट कम्पनीहरूको बैंक खातामा ‘प्लेसमेन्ट’ गरी, त्यसलाई ‘ई-मनी’मा परिणत गरिन्थ्यो। पछि, सो रकमलाई रेमिट्यान्स कम्पनीहरूले रेमिट्यान्सको रूपमा नेपाली कामदार वा विद्यार्थीका आफन्तहरूको खातामा ट्रान्सफर गरेर हिसाब मिलान (सेटलमेन्ट) गरिरहेको पाइयो।
नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कार्य गर्दै आएको भन्दै मनी ट्रान्फरहरू र तिनका सञ्चालकहरूमाथि अनुसन्धान भइरहेको छ। हालसम्म अनुसन्धानमा करिब १७ अर्ब ८६ करोड ७० लाख ४९ हजार १०७ रुपैयाँ संकलन भएको देखिएको छ।
नेपाल प्रहरीको अनुसार, यस अवैध कारोबारमा विभिन्न जिल्लाबाट संलग्न व्यक्तिहरूलाई पक्राऊ गरिएको छ भने थप अनुसन्धान जारी रहेको जनाइएको छ।
वैशाख १५, २०८२ सोमबार १९:०१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।