डाक्टर पढ्न शुल्क र सिट बढ्ने भएपछि ४८ हजार निर्वाह भत्ता दिन तयार भए निजी मेडिकल कलेज

काठमाडौं : डाक्टर पढ्न शुल्क र सिट संख्या बढ्ने भएपछि निजी मेडिकल कलेजहरू आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय ३७ रूपैयाँ निर्वाह भत्ता दिन तयार भएका छन्।
चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १९औँ बैठकले एमबीबीएस र बीडीएस लगायतका कार्यक्रमहरूको सिट र शुल्क बढाउने रणनीति अनुरूप निर्देशक सुजन मरहठ्ठाको संयोजकत्वमा अर्को कार्यदल गठन गरेको छ। आयोगले निजी मेडिकल कलेजहरूको मागअनुसार सिट र शुल्क बढाउने निर्णय गरेको हो।
सिट संख्या र शुल्क कति बढाउने भन्ने विषयमा पुनरावलोकन गर्न कार्यदल गठन गरिएको हो।
सोमबार बसेको आयोगको १९औं बैठकले निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै कार्यान्वयन हुने गरी वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने निर्देशन दिएको छ। यस निर्णयमा निजी मेडिकल कलेजहरू सहमत भएका छन्।
आयोगले निर्णय गरेकै दिनदेखि सबै आवासीय चिकित्सकहरूले भत्ता पाउने एशोसिएशन अफ प्राइभेट एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले जानकारी दिए।
यसअघि, सिट संख्या र शुल्क पुनरावलोकनका लागि आयोगको १८ औं बैठकले १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शिक्षा सचिव दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो।
उक्त समितिले दिएको प्रतिवेदनको आधारमा सिट संख्या र शुल्क कति बढाउने भन्ने विषयमा पुनः कार्यदल गठन गरिएको आयोगका सदस्य डा. पदम बहादुर खड्काले जानकारी दिए।
आयोगको गत माघ २५ गते बसेको १६ औँ बैठकले निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तह (पिजी) का आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय ३७ रूपैयाँ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो। तर, मेडिकल कलेजहरूले उक्त निर्णय कार्यान्वयन नगरेपछि आवासीय चिकित्सकहरू सडकमा उत्रिएर विरोध जनाइरहेका थिए।
वैशाख १५, २०८२ सोमबार १७:४८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।