लिङ्देन मेरो प्रिय भाइ हो, अहिले उहाँको नेतृत्वको आवश्यकता छ : कमल थापा

लिङ्देन मेरो प्रिय भाइ हो, अहिले उहाँको नेतृत्वको आवश्यकता छ : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आवश्यक प्रबन्ध मिलाएर राष्ट्रवादीहरू एक ढिक्का भएर अगाडि बढ्न अपिल गरेका छन्। 

सोमबार राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले राजावादीको विचार र मान्यतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बेला एक ठाउँमा उभिन नसके इतिहासले सराप्ने उनको भनाइ छ। 

‘एकातर्फ राजसंस्था पुनःस्थापनाका लागि एकदमै अनुकूल वातावरण अर्कोतर्फ हाम्रो विचार र मान्यतालाई समाप्त गर्ने षड्यन्त्र भइरहेको बेला पनि यदी हामी एक ठाउँमा उभिन सकेनौं भने इतिहासले सराप्ने छ । राजसंस्था पुनःस्थापनाका लागि एकदमै अनुकूल वातावरण त्यसैले केही समयको निमित्त भए पनि एक ढिक्का भएर अगाडि बढौं,’ उनले भने।

उनले राजनीतिक आरोह अवरोहमा विभिन्न घटना-दुर्घटना भएपनि अहिलेको घडीले राजेन्द्र लिङ्देनको सक्रिय सहभागिता र नेतृत्वको आवश्यकता महसुस गरिरहेको बताए।

उनले भने,‘राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मेरो अत्यन्तै प्रिय भाइ हो। राजनीतिक आरोह अवरोहमा विभिन्न घटना–दुर्घटना भए होला, अहिलेको घडीले उहाँको सक्रिय सहभागिता र नेतृत्वको आवश्यकता महसुस गरिरहेको छ।’

त्यस्तै अध्यक्ष थापाले सरकारले हिन्दुराष्ट्र राजतन्त्रको आवाज उठायो भने २५ वर्षसम्म जेल सजाय र १० लाख रुपैयाँ जरिवाना गर्नेगरी कानुन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाए।

वैशाख १५, २०८२ सोमबार १७:३६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।