गगनको सर्त- कांग्रेसले प्रतिबद्धता पुरा गर्छ, तर सरकारबाट रिजल्ट चाहियो

गगनको सर्त- कांग्रेसले प्रतिबद्धता पुरा गर्छ, तर सरकारबाट रिजल्ट चाहियो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग मिलेर सरकारमा जाँदा गरिएको प्रतिबद्धता कांग्रेसले पूरा गर्ने स्पष्ट पारेका छन्।

सोमबार काठमाडौंमा नेपाली कांग्रेस पार्टीको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले अब सरकार ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएर नयाँ सोचसहित अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, ‘हामी जोखिम उठाउन तयार छौं । यस्तो कुराहरुमा हाल गरिरहेको काम भन्दा फरक ढंगले गर्नुपर्छ । कम्फर्ट जोनबाट बाहिर आएर काम गर्नुपर्छ । नयाँ ढंगले सोच्नुपर्ने छ । नेपाली कांग्रेस अहिले नेकपा एमालेसँग सरकारमा छ । पार्टीको तर्फबाट प्रतिबद्धता र समर्थन छ । अहिलेको प्रतिबद्धताका आधारमा तलमाथि गर्न लाग्दैनौं । यसलाई तिव्र रुपमा अगाडि बढाउँछौं तर यो समयको प्रयोग गर्न चाहन्छौं । सरकार बस्नको लागि मात्र भएर भएन, काम गर्नुपर्छ । परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ । रिजल्टमा काम गर्न चाहन्छौं ।’

थापाले सरकारले हालसम्म हात हाल्दै आएका केही क्षेत्रमा प्रभावकारी परिणाम नआएको टिप्पणी गर्दै ती ठाउँमा अब ध्यान केन्द्रित नगर्न सुझाव पनि दिए।

उनले भने, ‘खास गरेर अब समय आयो । जुन हामीले कम्र्फटजोनमा बसेर काम गर्यौं । अब यसरी गरेर हुँदैन् । कतिपय नयाँ सन्दर्भमा जानुपर्ने हुन्छ । सरकारले हात हालिरहेका थुप्रै ठाउँहरू छन् । जसमा सरकारले हात हाल्दा राम्रो परिणाम आएको छैन । ती ठाउँमा हात हाल्न छाडिदिए हुन्छ ।’

उनले पार्टीको तर्फबाट नीति निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बजेट, नीति र कार्यक्रम निर्माणमा सन्तुलन र परिणाम ल्याउने दृष्टिकोण आवश्यक रहेको बताए।

थापाले सरकारका काम कारबाहीमा गति र प्रभावकारिता ल्याउन नसके जनतामा विश्वास घट्ने बताए। 

वैशाख १५, २०८२ सोमबार १६:५८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।