नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको मन्त्री पाण्डेको दाबी

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको मन्त्री पाण्डेको दाबी

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री प्रसाद पाण्डेले मुलुकको नागरिक उड्डयन क्षेत्रमा सुशासन कायम गरी कानुनी पद्धतिलाई बलियो बनाउन विधेयक ल्याइएको दाबी गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले हवाई क्षेत्रको सुशासन बलियो बनाउँदै यस क्षेत्रमा दक्ष जनशक्तिको प्रबन्ध गर्ने उद्देश्यले विधेयक ल्याइएको स्पष्ट पारे।

पर्यटनमन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन तथा नेपाली हवाई आकाशलाई गतिशील तुल्याउन विधेयकले भूमिका खेल्ने विश्वास व्यक्त गरे। ‘दुई निकायलाई अलग-अलग भूमिका निर्वाह गर्ने गरी विधेयक ल्याउनुको अर्थ पद्धति बलियो बनाउने, सुशासन प्रवर्द्धनका साथै दक्ष जनशक्तिको प्रबन्ध गर्ने हो । यसबाट दक्षता विज्ञता आ-आफ्नो ढङ्गले अभिवृद्धि हुनेछ’, उनले भने।

मन्त्री पाण्डेले प्रस्तुत विधेयकले कर्मचारीको अहिले भएको सेवासुविधा नघट्ने गरी विधेयकमा प्रबन्ध गरिने स्पष्ट पारे।

उनले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे निष्पक्षताका साथ छानबिन भइरहेको र प्रारम्भिक प्रतिवेदन आइसकेको जानकारी दिँदै अन्तिम प्रतिवेदन आएपछि प्रतिवेदनले औंल्याएका विषयलाई कुनै कसुर बाँकी नगरेर जो कोहीलाई दण्डित गर्न दृढताका साथ लाग्ने बताए।

वैशाख १५, २०८२ सोमबार १६:१७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।