टिकटक बनाउने भन्दै घरबाट बोलाइयो, खोलामा लगेर गोली हानियो

रौतहट : वैशाख ६ गते रौतहटको गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा एक बालकको शव फेला पर्यो। शवको अनुसन्धान गर्दा गोली हानेर हत्या गरेको खुल्यो। मृतक रौतहटकै वृन्दावन नगरपालिका-७ का १४ वर्षीय कृष्णप्रसाद यादव थिए।
रौतहट प्रहरीले हत्यामा संलग्न रहेकाहरूको खोजीमा सक्रियता बढायो। हत्यामा संलग्न ४ जना अभियुक्तलाई पक्राउ गर्न सफल भयो। जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन मार्फत अभियुक्तहरूलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सोही स्थानका नागेन्द्र सहनी, साघु भनिने नागेन्द्र सहनी, गौर नगरपालिका ४ का विकास पटेल र अनिल साह रहेका छन्।
१४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्याई गोली हानी हत्या गरेको अनुसन्धानबाट खुलेको छ। रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार बालकको छातीमा २ राउन्ड गोलि हानी हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर०५डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल टुक्रा पारिएको अवस्थामा गौरको एक वर्कशपबाट फेला पारेको छ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
हत्या आरोपी र मृतकको परिवारबीच पुरानो रिसइबी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार तीन वर्षअघि मृतकको बुबालाई अपहरण गरेको आरोपमा अहिले पक्राउ परेका नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीमाथि मुद्दा दायर भएको थियो । तर उनी हालसम्म फरार छन्।
यसरी भयो निर्मम हत्या
यादवको हत्या योजनाबद्ध रूपमा गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
वैशाख ६ गते साधु भनिने नागेन्द्र सहनी र नागेन्द्र सहनीले यादवलाई फोन गरेर टिकटक बनाउने बहानामा खोलामा बोलाएका थिए। यादव बाइक लिएर खोलामा पुगेपछि उनीहरूले कृष्णलाई नियन्त्रणमा लिएर मोबाइल खोसे। बाइक पनि कब्जा गरेर यादवलाई उनीहरूले शान्त ठाउँमा पुर्याए।
चाँदी खोलामा पुगेर साधु भनिने नागेन्द्र सहनीले कृष्णलाई धकेली लडाए। त्यसपछि मुख्य अभियुक्त नागेन्द्र सहनीले कृष्ण यादवको छातीमा दुई राउण्ड गोली प्रहार गरे। गोली लागेर कृष्णको घटनास्थलमै मृत्यु भएको अनुमान गरिएको छ।
हत्या पछि दुबै अभियुक्तले मृतककै मोटरसाइकल प्रयोग गरी दुर्गाभगवती गाउँपालिका वडा नं. ५ स्थित आफन्तको घर पुगे। त्यहाँ घटनामा प्रयोग गरिएको कटुवा पेस्तोललाई टिन बाकसभित्र लुकाइयो। साथै मोटरसाइकलको नम्बर प्लेट फोरेर माटोभित्र गाडिएको र मोटरसाइकल त्यहीँ छाडिएको प्रहरीले जनाएको छ।
वैशाख ७ गते बिहान दुबै अभियुक्त पुनः सोही घर फर्किएर मृतकको मोटरसाइकल विकास पटेललाई रु ५००० मा बिक्री गरेका थिए।
वैशाख १५, २०८२ सोमबार १५:१७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।