रामबल्लभको ‘र्‍यामस्टरड्याम’ : इन्टरनेटले डिभिडी पसल खोस्यो, टिकटकले क्याफे उकास्यो

रामबल्लभको ‘र्‍यामस्टरड्याम’ : इन्टरनेटले डिभिडी पसल खोस्यो, टिकटकले क्याफे उकास्यो

काठमाडौं : जनकपुरको हरिहरपुर गाउँमा जन्मिएका रामबल्लभ दास तत्माको जीवन कुनै सिनेमाभन्दा कम छैन। हाल ४२ वर्ष मात्र पुगेका रामबल्लभले दस वर्षको उमेरमा घरपरिवारलाई जानकारी नदिई काठमाडौं हानिए। आर्थिक अभाव, पारिवारिक दु:ख र शहरप्रतिको आकर्षणले उनलाई काठमाडौं डोहोर्याएको थियो।

परिवारका दुई सन्तानमध्ये जेठा सन्तान रामबल्लभले पाँच वर्षको उमेरमा बुवा गुमाए। बुवाको मृत्युपछि घरको आर्थिक बोझ र गाउँको कठिन जीवन छल्न उनले काठमाडौंको बाटो रोजे। उनलाई लाग्थ्यो- शहरमा राम्रो कमाइ हुन्छ अनि चामलको भात खान पाइन्छ। तर, यो सपनाका लागि उनले सङ्घर्षको लामो यात्रा तय गर्नुपर्यो।

गाउँबाट शहर
रामबल्लभलाई गाउँकै एक परिचित व्यक्तिले काठमाडौंमा गलैँचा कारखानामा काम लगाइदिने आश्वासन दिए।

‘गाउँको मान्छेले काठमाडौंमा हिँड्न पर्दैन, चामलको भात खान पाइन्छ, पैसा पनि धेरै कमाइन्छ भन्थ्यो’, उनी सम्झन्छन्।

यो आश्वासनले दश वर्षीय रामबल्लभको मन लोभियो। घरमा कसैलाई नभनी उनी त्यही व्यक्तिको पछि लागे। काठमाडौं आइपुग्दा उनको जीवनको नयाँ अध्याय सुरू भयो, तर यो अध्याय तीन गाउँका मान्छेले भनेजस्तो सहज थिएन।

यद्यपि काम भने सहजै पाए, त्यो पनि चाबहिलको गणेशथान नजिकैको गलैँचा कारखानामा। कारखानाले खाने र बस्ने सुविधा दिएको थियो। छ महिनामै उनले गलैँचा बुन्ने कला सिके। तर, अरू कामदारको तुलनामा उनको तलब निकै कम थियो। उनको योजना थियो- एक वर्ष काम गरेर तलब जम्मा गर्ने र दशैंमा जनकपुर फर्केर परिवारलाई पैसा बाँड्ने। तर, सपना पूरा हुन पाएन।

‘मैले एक वर्ष राम्रोसँग काम गरेँ। तलब माग्दा साहुले कुटेर निकालिदियो, पैसा पनि दिएन’, उनी ती दिन सम्झँदै दुखेसो पोख्छन्।

कारखानाबाट निकालिएपछि रामबल्लभको सडकपेटीको बास भयो। पहिलो रात उनले पशुपति मन्दिरमा बिताए, तर त्यहाँको वातावरणले उनको मन बिथोलियो। भोलिपल्टै बौद्ध पुगे। काम र बस्ने ठाउँ नहुँदा सडक नै उनको आश्रय बन्यो। त्यहाँ उनको संगत सडक बालबालिकासँग भयो।

‘काम छैन, कसरी बाँच्ने? समाजले खाते भन्थे, तिनीहरूसँगै हिँड्न थालेँ’, उनी स्मरण गर्छन्।

एक वर्षसम्म उनले सडकमै दिनरात बिताए। बिहान फोहोर उठाउने, सिसीका बोतल जम्मा गर्ने र दिउँसो बौद्धमा विदेशी पर्यटकसँग पैसा माग्ने उनको दैनिकी बन्यो। साथीहरूले उनलाई पहिलो अंग्रेजी वाक्य सिकाए- वान डलर प्लिज।

‘कुइरे देख्नासाथ वान डलर प्लिज भन्नुपर्छ भनेर साथीहरूले सिकाए। बिहान बोतल जम्मा गर्थेँ, दिउँसो यही वाक्य दोहोर्याउँथेँ’, उनी हाँस्दै भन्छन्।

त्यो कठिन समयमा घरको सम्झना नआएको होइन, तर उनीसँग न फर्कने पैसा थियो, न त गाउँ जाने बाटो नै थाहा थियो।

‘फर्केर जाने कसरी? पैसा थिएन। दस-एघार वर्षको केटो, काठमाडौंमै टिक्नुपर्ने बाध्यता थियो’, उनले भने। सडकको यो कठिन जीवनले उनलाई जिन्दगीको कठोर पाठ सिकायो।

नयाँ अवसर बन्यो रोक्पा सुप किचन
सडकको कठिन जीवन बिताइरहँदा एक दिन उनलाई लुतो लाग्यो। बौद्धमा सञ्चालित रोक्पा सुप किचनले सडक बालबालिकालाई जाडोमा लत्ताकपडा, औषधि र खाना वितरण गर्थ्यो।लुतोको उपचार गर्न त्यहाँ पुगेका रामबल्लभको जीवनमा नयाँ मोड आयो। एक विदेशी नर्सले उनलाई पढ्ने इच्छा छ कि भनेर सोधिन्।

‘मैले पढ्छु भनेँ। उनले मलाई उपचार गरिन् र दुई महिनापछि पढ्न भन्दै बोलाइन्’,  उनी सुनाउँछन्।

रोक्पाले उनलाई पढ्ने, खाने र बस्ने सुविधा दियो। उनले औपचारिक शिक्षा सुरू गरे। तर, कक्षा ८ मा साथीहरूको झगडामा उनको नाम मुछिएपछि स्कूलले निकाल्यो। एक वर्ष पढाइ रोकियो। यो अवधिमा उनले बौद्धमा एक विदेशीको ‘रुम फर रेन्ट’ व्यवसायमा काम गरे। त्यहाँ उनले व्यवसायको आधारभूत ज्ञान सिके। पछि सिद्धार्थ वनस्थली स्कूलमा फर्केर उनले एसएलसी र प्लस टु पूरा गरे।

डिभिडी पसल
प्लस टु सकेपछि रामबल्लभले थप पढाइलाई निरन्तरता दिएनन्। सानैदेखि संगीतप्रति रुचि राख्ने उनले डिभिडी पसल खोल्ने योजना बनाए। तर, पुँजीको अभाव थियो। रोक्पा सुप किचनमा बस्दा विदेशीले दिएको १० हजार रुपैयाँ उनको आधार बन्यो।

साथीहरूबाट थप पाँच हजार जम्मा गरे। एक साथीले आफ्नो गिटार बेचेर दिएको ५ हजारले उनको पुँजी २० हजार पुग्यो। यही रकमले उनले बौद्धमा ‘बल लंक्स डिभिडी स्टोर’ खोले। पसलमा नेपाली र विदेशी पर्यटकको भीड लाग्थ्यो।

‘फिल्मको चक्का लिन आउनेको लाइनै हुन्थ्यो’, उनले सम्झे।

रामबल्लभले राम्रो कमाइ गरे। कमाएको पैसालाई उनले पसलमै लगानी गरे। यसैबीच उनले ‘रुम फर रेन्ट’ अवधारणा पनि लागू गरे। एउटा घर भाडामा लिएर विदेशी पर्यटकलाई लक्षित गरी उनले कमाइ गरे। यो कमाइले उनले जग्गा जोडेर घर बनाए।

‘पसलको नाफा कहिल्यै बाहिर खर्च गरिनँ। पसलमै सामान थप्न मन लाग्थ्यो’, उनले भने।

इन्टरनेटले पसलै खायो
सन् २०१० तिर इन्टरनेटको विस्तारले डिभिडीको व्यापार घट्यो। १४ वर्षसम्म चलेको उनको पसल बन्द गर्नुपर्यो।

‘इन्टरनेटले डिभिडी पसल खाइदियो’, उनले भने।

तर, उनले हार मानेनन्। एउटा घर पूरै भाडामा लिएका रामबल्लभले विदेशी पर्यटकलाई आकर्षित गरी ‘रुम फर रेन्ट’ व्यवसायलाई निरन्तरता दिए। त्यही समयमा हो उनले बौद्धस्थित तीनचुलीमा ‘र्यामस्टरड्याम’ नामक क्याफे खोल्ने निधो गरेको। आफ्नो नाम र नेदरल्यान्ड्सको राजधानी एम्स्टरड्यामलाई जोडेर उनले  क्याफेको नामाकरण गरेका हुन्।

‘विदेशीहरू रुम फर रेन्ट मा बस्न आउने, वियर खान र जन्मदिन मनाउन बौद्ध नै जानुपर्ने थियो। क्याफे नै थिएन भन्दा पनि हुन्छ यो ठाउँमा। उनीहरूले रमाइलो कि, ठमेल कि, यहाँबाट २० मिनेट हिडेर बौद्ध जानुपर्थ्यो। त्यहाँबाट आएको हो क्याफे खोल्ने कन्सेप्ट’, उनले भने।

क्याफे खोल्न ५ लाखको योजना बनाएका उनलाई अन्ततः ३० लाख बैंक ऋण लिनुपर्यो। क्याफे सञ्चालन गर्दै ऋण तिर्ने क्रममा २०७२ को भूकम्पले सबै योजना तहसनहस बनायो।

‘भूकम्पमा एक महिना दाल-भात मात्र खायौँ। ग्यासलाई १२ हजारसम्म तिरेँ। नाकाबन्दीले झन् समस्या थपियो’, उनले सम्झिए।

भूकम्प, कोभिड र ऋणको बोझ
भूकम्पपछि नाकाबन्दी र त्यसपछि कोभिड-१९ को महामारीले रामबल्लभको व्यवसायलाई थप संकटमा पार्यो। क्याफे बन्द गर्नुपर्दा उनलाई ऋणको बोझले सतायो। साथीहरूले क्याफे नखोल्न सुझाएका थिए, तर उनले जोखिम मोले। बन्द गर्नुपर्दा भने ऋणको पिरले उनलाई गाँज्यो। उनले दु:खले बनाएको घर बेच्ने प्रयास गरे, तर बिक्री भएन।

‘ऋण माथि ऋण थपियो। घर बेच्न खोजेँ, बिकेन। जेनतेन क्याफे चलाएँ’, उनले भने।

२३ वर्षदेखि व्यवसायमा सक्रिय रामबल्लभले हार मानेनन्। कोभिड सकिएर अवस्था सहज भएपछि क्याफे किन्ने मान्छे नआएका पनि हैनन्। त्यसपछि उनले क्याफे बेच्न चाहेनन् बरु त्यसैलाई पुनर्जन्म दिए। अहिले उनको क्याफेमा नेपाली र विदेशी पर्यटकको भीड लाग्छ। टिकटकमा क्याफेको भिडियो राख्दा ग्राहक पनि थपिएका छन्।

‘इन्टरनेटले डिभिडी पसल बन्द गरायो, तर क्याफेमा ग्राहक बढाउन पनि इन्टरनेटकै देन छ’, उनले भने।

अहिले उनले छ जना कर्मचारी राखेका छन्। क्याफेलाई थप विस्तार गर्ने उनको योजना छ। त्यस बाहेक उनी जीवनले कसैले पनि बारम्बार अवसर नदिने बताउँछन्। अवसर पाएको बेला त्यसलाई चिनेर सदुपयोग गर्न सक्नुपर्ने उनको बुझाइ छ।

‘यो कामबाहेक अरू केही गर्नु छैन। मेरो अन्तिम गन्तव्य क्याफे नै हो,’ उनले भने, ‘जीवनले बारम्बार अवसर दिँदैन। जुन अवसर आउँछ, त्यसलाई चिनेर उपयोग गर्नुपर्छ।’

इन्टरनेटले उनको डिभिडी पसल खोसे पनि त्यही इन्टरनेटले क्याफेलाई नयाँ उचाइ दिएको उनी स्वीकार्छन्।

‘धेरै माया गरेर खोलेको डिभिडी पसल इन्टरनेटले खाइदियो। अहिले क्याफेमा ग्राहक बढ्नु पनि इन्टरनेटकै कारणले हो। इन्टरनेटको कारणले मलाई घाटा पनि भयो, नाफा पनि भयो।’

वैशाख १५, २०८२ सोमबार १३:५४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।