‘आफैँले घुसपैठ गराएर शिक्षक आन्दोलनमा सरकारले दमन गर्यो’

‘आफैँले घुसपैठ गराएर शिक्षक आन्दोलनमा सरकारले दमन गर्यो’

काठमाडौं : प्रतिपक्षी दलहरूले आइतबार शिक्षक आन्दोलनमा भएको प्रहरी दमनको विरोध गरेका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकको आकिस्मक समयमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले सरकार र प्रहरीले शिक्षक आन्दोलनमा भएको दमनको विरोध गरेका हुन्।

सदनमा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले गाउँ–गाउँमा विद्यार्थीहरुले विद्यालय जान नपाएर भिरपाखामा कुद्दा उनीहरुको उपचारमा थप खर्च लाग्ने अवस्था आएको बताए।

तीन वटा सरकारसँग पटक–पटक भएको सम्झौता कार्यान्वयन गर्नुको सट्टा शिक्षकलाई कुटपिट र दमनको नीति सरकारले लिएकोमा उनले त्यसको विरोध समेत गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् तथा पूर्वमन्त्री सुमना श्रेष्ठले बहुमतको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाइन्। शिक्षक आन्दोलनमा भएको दमनले त्यो कुरालाई पुष्टि उनको भनाइ छ।

शिक्षकका जाजय मागहरू पूरा गर्न र शिक्षकलाई सम्झाउन पनि सरकारले नसकेको उनको आरोप छ। साथै उनले शिक्षकहरुलाई पनि कुनै दलको कार्यकर्ता नभई नेपाली नागरिकको रुपमा सडकमा आउन आग्रह गरेकी छन्।

उनले भनेकी छन्, ‘कुनै दलको कार्यकर्ता बन्नुभयो भने नेताले उठ भने उठ र बस भने बसको अवस्था हुन्छ। स्वतन्त्र नागरिक भएर आउनुभयो भने सबैले समर्थन गर्ने अवस्था आउँछ।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले शिक्षक आन्दोलनमा आफैँ घुसपैठ गराएर सरकारले दमन गरेको आरोप लगाएकी छन्। आन्दोलनमा महिला शिक्षिकाहरुमाथि दुर्व्यवहारपूर्ण तरिकाले लाठीचार्ज भएको बताइन्।

उनले भनिन्, ‘हिजो शिक्षक आन्दोलनमा आफैँ घुसपैठ गराएर शिक्षकहरुमाथि निर्मम तरिकाले लाठीचार्ज, पानीको फोहरा र अश्रुग्यासको प्रहार गरेर ६२ जना शिक्षकहरुलाई घाइते बनाइएको छ।’

उता सत्ताधारी दल एमाले सांसद सूर्यबहादुर थापाले संयमित भएर आफ्ना आन्दोलन गर्न आग्रह गरेका छन्। अहिलेसम्मका गतिविधि र सहमतिको बारेमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउन समेत माग गरे।

वैशाख १५, २०८२ सोमबार ११:३३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।