तीन प्रदेश जोड्ने रानीघाट पुलको लज्जास्पद प्रगति, १३ वर्षमा तीन पिल्लर मात्र

सुर्खेत : कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश जोड्ने महत्वपूर्ण सुर्खेत-भुरीगाउँ-तेलपानी सडकको रानीघाट पुल डेढ दशकदेखि अलपत्र छ।
वीरेन्द्रनगर नगरपालिका-२ र बराहताल गाउँपालिकाको सिमानामा पर्ने यो पुल नबन्दा स्थानीयले सास्ती भोगिरहेका छन्। २०६९ असार २९ मा पप्पु/मल्ल जेभी कन्स्ट्रक्सनले १४ करोड २९ लाखमा ठेक्का लिए पनि तीन पिल्लर मात्र ठड्याएर निर्माण अलपत्र छ। १३ वर्ष बित्दा पनि पुल बन्न सकेको छैन।
यो पुल तीन प्रदेश जोड्ने छोटो मार्ग भएकाले स्थानीयको अपेक्षा उच्च छ। हरेक निर्वाचनमा उम्मेदवारले रानीघाट पुल निर्माणलाई मुख्य एजेन्डा बनाउँछन्, तर जितेपछि बाचा पूरा गर्दैनन्। पुल अभावले पर्यटकीय सम्भावना बोकेको क्षेत्र ओझेलमा परेको र लुम्बिनी तथा सुदूरपश्चिमबाट आन्तरिक पर्यटक भित्र्याउन नसकिएको बराहताल-२ का पदमबहादुर भण्डारी बताउँछन्।
उनी भन्छन्, ‘चुनावमा पुल बनाउने नारा लगाएर मत लिन्छन्, तर जितेपछि फर्किंदैनन्, फोन पनि उठाउँदैनन्।’
प्रदेश राजधानी वीरेन्द्रनगरबाट ९ किलोमिटर दूरीमा रहे पनि पुल नहुँदा सामग्री ढुवानी र आवतजावतमा समस्या छ। बर्दिया राष्ट्रिय निकुञ्जको कानुनी जटिलता र रानीघाटमा पुल नबन्नुले भुरीगाउँ-तेलपानी सडकखण्डले पूर्णता पाउन सकेको छैन।
भुरीगाउँ, तेलपानी, लेखगाउँ, मग्रा, रानीघाट, श्रीचौर, पाग्म, डाँडापानी, सुगुरखाल, ज्यामिरेसम्म सडक पुगे पनि रानीघाटमा पुल नहुँदा स्थानीयलाई वीरेन्द्रनगर पुग्न र उत्पादित वस्तु बजार लैजान कठिनाइ छ।
पुलको डिजाइनमै त्रुटी भएको भन्दै ठेकेदारले निर्माण छाडेपछि सडक डिभिजन कार्यालयले २०७९ असार २० मा ८० लाख ७९ हजार बैंक ग्यारेन्टी जफत गरी ठेक्का तोडेको छ। ठेकेदार कम्पनी अदालत गएकाले मुद्दा विचाराधीन छ, जसले नयाँ ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन। चार करोड ३८ लाख २२ हजार भुक्तानी लिएर पनि ठेकेदारले प्राविधिक समस्या देखाउँदै काम रोकेको थियो।
स्थानीय ७६ वर्षीय मानबहादुर थापा नेताका आश्वासनले दु:खी छन्।
‘हिउँदमा धुलो, वर्षामा बाढी र पहिरोले सताउँछ, सुत्केरी र बिरामीलाई एम्बुलेन्स पुग्दैन’, उनले भने।
बराहताल-२ की वडा सदस्य ज्ञाना वादीले प्रदेश र संघका सांसदलाई पटक-पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको बताइन्।
‘१३ वर्षदेखि पुल बनिरहेको छ, वीरेन्द्रनगर पुग्न डुङ्गा वा दुई घण्टा हिँडेर झोलुङ्गे पुल प्रयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘दैनिक उपभोग्य सामग्री र बिरामीका लागि वीरेन्द्रनगर जानुपर्छ, तर पुल नहुँदा सास्ती छ।’
पुल अभावले बालबालिकाको पढाइमा समेत असर परेको छ।
स्थानीय पुष्पा योगी भन्छिन्, ‘पुल भए पाँच मिनेटमा पुग्ने विद्यालय पुग्न घण्टौ हिँड्नुपर्छ। ठेकेदारको लापरवाही र सरकारी त्रुटिका कारण हामी जनता मारमा पर्यौं।’
यो १२० मिटर लामो पुल सुर्खेतदेखि बर्दिया जोड्ने ५२ किलोमिटरको छोटो सडकमा पर्छ। ४२ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म प्रगति शून्य छ।
वैशाख १५, २०८२ सोमबार ११:०६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।