बहिष्कारबाट दिक्क दीपक

काठमाडौं : अभिनेता तथा निर्माता दीपकराज गिरी समसामयिक विषयमा सामाजिक सञ्जालमार्फत आफ्ना मत राखिरहन्छन्। त्यसरी आफ्नो विचार राख्ने क्रममा उनी सयौंपटक आलोचित पनि हुने गरेका छन्। यद्यपि उनी आफ्ना विचार राख्न हिच्किचाउँदैनन्।
पछिल्लो समय राजवादीहरुले अभिनेत्री सुरक्षा पन्तको फिल्म बहिस्कार गर्ने भनेर अभियानै चलाइरहँदा उनले पनि यस विषयमा आफ्ना विचार राखेका छन्। विचारमार्फत उनले दिक्दारी समेत प्रकट गरेका छन्।
बहिष्कार नेपाली समाजको परम्परा बन्दै गइरहेको भन्दै उनले यसले समाजलाई विस्तारै असहिष्णुतातर्फ धकेल्ने बताए। सुुरक्षाको पक्षमा उभिरहँदा उनले दशैंताका आफैँले बनाएको फिल्म ‘छक्का पञ्जा’ सिरिज र केही समयअघि केपी शर्मा ओलीको आलोचना गर्दा प्रकाश सपूतको फिल्म ‘वसन्त’ बहिष्कार भएको घटना समेत स्मरण गरे।
उनले भने, ‘दशैंमा हाम्रो फिल्म चल्दा सामाजिक सञ्जालमा यसको फिल्म नहेरौँ भन्दै बहिष्कारको नारा गुन्जिएको सम्झन्छु। बहिष्कारको बहाना फरक-फरक भए पनि त्यो नारा विस्तारै प्रकाश सपूत हुँदै सुरक्षा पन्तसम्म आइपुग्यो।’
कलाकारहरू मात्र नभएर अहिले एकले अर्काको अस्तित्व नै स्वीकार्न नसकेर बहिष्कार गरिरहेको उनको धारणा छ। कसैको तारिफ गरे पनि बहिष्कार र कसैको तारिफ नगरे पनि बहिष्कार गर्ने अवस्थाबाट नेपाली समाज माथि उठ्नुपर्नेमा उनको जोड थियो।
‘कसैले कसैको तारिफ गरे बहिष्कार, कसैले तारिफ गरेन बहिष्कार! बहिष्कारै बहिष्कार!! हामी कलाकार त बहाना मात्रै हौ ! बास्तवमा अहिले राजावादीले गणतन्त्रवादी बहिष्कार! गणतन्त्रवादीले राजावादी बहिष्कार। यो विचार राख्नेले त्यो विचार राख्नेलाई बहिष्कार! यो समूहले त्यो समूह बहिष्कार। एकले अर्काको अस्तित्व नै बहिष्कार! बहिष्कार त हाम्रो परम्परा नै बन्दै गइरहेको छ!! बिस्तारै बिस्तारै असहिष्णुतातिर बढ्दै छ कि हाम्रो समाज?’, उनले प्रश्न गरेका छन्।
पछिल्लो समय अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्र शाहको बारेमा टिप्पणी गर्दै ‘साना नानीहरू उनको ठूलो फ्यान छन्, फिल्म खेल्न आए हुन्छ’ भनेपछि राजावादीहरूले सुरक्षाको फिल्म बहिष्कारको अभियानै चलाएका छन्।
केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक विमोचन कार्यक्रममा उनको प्रशंसा गरेको भन्दै ओलीका आलोचकहरूले प्रकाश सपूतको फिल्म ‘वसन्त’ नहेर्ने अभियान चलाएका थिए।
वैशाख १५, २०८२ सोमबार १०:०२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।