गलहत्त्याउँदै अदालत लगिएका मिश्र उस्तै शैली फर्काइए हिरासत

काठमाडौं : तीनकुने घटनाका आरोपीलाई हिरासतमा राख्ने म्याद आइतबार सकिने भएपछि प्रहरीले रवीन्द्र मिश्रसहितलाई म्याद थपका लागि अदालत पुर्यायो।
काठमाडौं जिल्ला अदालतमा मिश्रलाई लैजाँदा आरोपीले लगाउने हरियो खालको हाफ ज्याकेटमा थिए उनी। हातमा हतकडी थियो।
जिल्ला प्रहरी परिसरको गाडीबाट अदालत परिसरमा ओराल्दा उनी वरपर देखिएका केहीलाई हातले अभिवादन गर्न खोज्दै थिए। बोल्न खोज्दै थिए। तर प्रहरीले बोल्न नदिई मुन्टाउँदै लग्यो। कसैले हतकडी किन लगाएको भन्दै प्रश्न सोधिरहेका थिए। तर उत्तर दिने कोही थिएनन्।
चैत १५ बेलुकादेखि उनी प्रहरी हिरासतमा छन्। लगभग हिरासत बसाई एक महिना हुन लाग्यो। अभियोग राज्य विरुद्धको सङ्गठित अपराध।अदालतको इजलासमा म्याद थप्ने कि हाजिर जमानीमा छाड्ने भन्ने बहस भयो। म्याद थप्नुपर्ने मिश्रसहित २५ जना थिए।
सरकारी वकिलको तर्फबाट प्रमाण सङ्कलन, बयान, बुझ्नुपर्ने व्यक्ति लगायतको प्रक्रिया बाँकी रहेको भन्दै म्याद थप्न माग गरे। मिश्रतिरका वकिलले बदनियतपूर्वक हिरासत अवधि लम्ब्याएको भन्दै हाजिर जमानीको माग गरे।
आइतबार मिश्र पनि बोले। उनले आफू बसेको मञ्चमै टियरग्याँस झरेपछि आवेगमा केही बोले पनि नियत भिड भड्काउने नभएको जिकिर गरे।
आफूले जाऊँ जाऊँ भनेको तर न ढुंगा हान्न भनेको नत आगलागी गर्न नै आदेश दिएको भन्दै राज्यविरुद्धको आरोपको प्रतिवाद गरे।
हाजिर जमानीमा छुट्न उनले जति प्रतिवाद गरे पनि काम लागेन उनीसहित २५ जनाकै हकमा सात दिन हिरासत अवधि थपियो।
उनी राप्रपाका अर्का नेता धवल शमशेर राणासहित समातिएका थिए। केही दिन अगाडिसम्म धवल पनि उनीसँगै हिरासतमा थिए।
क्यान्सरको उपचार गरेका धवलको गिजा सुन्नियो। उपचारका लागि उनी हाजिर जमानीमा छुटे। हिरासतको रुम पाट्नर मात्रै छुटेनन् पार्टीको साथ पनि छुट्यो।
पार्टीले हुन्न भन्दाभन्दै उनी, धवल, पशुपति शमशेर राणा, ज्ञानेन्द्र शाही राजा फर्काउने भन्दै नवराज सुवेदीको संयोजकत्वको समितिमा बसेका थिए।
त्यो दिन तीनकुने जानेमा धवल र मिश्र परे। शाहीको टोली गौशालामा रोकिदा जोगिए। राणा आएनन्। चलाख कमल थापा नि आएनन्। कमान्डर बनेका दुर्गा प्रसाईँको उत्तेजक व्यवहारसँगै दुवै उत्तेजित भए।
भिड हिंसात्मक हुँदा अकल्पनीय घटना भयो। एक जना गोली लागेर मारिए। पत्रकार जलेर मरे। २० जनालाई गोली लाग्यो।
त्यही रात समातिँदा पोलटिकल प्रोफाइल बन्छ भन्ने सोचेका थिए होलान् रवीन्द्रले। तर आरोप गम्भीर लाग्यो राज्य विरुद्धको अपराध र सङ्गठित अपराध।
अनुसन्धानकै हदम्याद ६० दिनको हुने यो आरोपमा प्रमाण कमजोर नदेखिए पुर्पक्षका लागि कारागारै चलान हुने जोखिम कायमै छ।
000
बहस सकियो। प्रहरी हिरासत लैजान अदालतबाट बाहिर निकालियो। उनको हातमा हतकडी नै थियो। ज्यानमा आरोपीको भेष्ट। कसैसँग बोल्ने प्रयास गर्दै थिए। फेरी गलहत्त्याउँदै प्रहरी भ्यानमा राखेर भद्रकालीतिर प्रहरीको निको भ्यान हुइँकियो।
वैशाख १५, २०८२ सोमबार ०२:३०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।