अर्थतन्त्र आन्तरिक रूपमा अझै सङ्कटग्रस्त रहेको कामु गभर्नरको स्वीकारोक्ति

काठमाडौँ : नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक रूपमा अझै सङ्कटग्रस्त रहेको बताएकी छिन्।
राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कामु गभर्नर ढुंगानाले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको उल्लेख गरिन्। उनका अनुसार बाह्य सूचकहरू सबल बन्दै गए पनि आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भइसकेको छ।
"उच्च तरलता एवम् न्यून ब्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवम् आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू अर्थतन्त्रमा कायमै छन्," उनले भनिन्।
ढुंगानाले सकारात्मक पक्षहरू पनि औँल्याइन्। मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको, बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा बिस्तारले गति लिन थालेको र पछिल्लो समय भएको कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको उनले बताइन्।
विश्व अर्थतन्त्रमा देखिएका चुनौतीहरू बारे चर्चा गर्दै ढुङ्गानाले रुस-युक्रेन युद्ध र मध्यपूर्वको द्वन्द्वका कारण मुद्रास्फीति, वैदेशिक सहायता र बाह्य क्षेत्र व्यवस्थापनमा थप चुनौती आउन सक्ने बताइन्।
कार्यक्रममा बोल्दै पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मुलुकको वित्तीय नीति लोकरिझ्याँई र व्यक्तिगत फाइदाका लागि केन्द्रित हुँदा समस्या देखिएको टिप्पणी गरे। उनले सार्वजनिक ऋणको दायित्व भुक्तानीमा ठूलो रकम खर्च हुँदा पनि पुँजीगत खर्च बढ्न नसकेको, सहकारी क्षेत्र धराशायी हुँदा उपभोक्ता बजारमा असर परेको र स्वदेशमा रोजगारी नबढ्दा उत्पादन प्रभावित भएको जस्ता चुनौतीहरू औँल्याए।
वार्षिकोत्सव कार्यक्रममा राष्ट्र बैंकका विभिन्न कर्मचारी संघ संगठनहरूले गभर्नर नियुक्ति प्रक्रियामा भइरहेको ढिलाइबारे चासो व्यक्त गरेका थिए। कार्यक्रममा पूर्व गभर्नर क्षेत्री र २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो।
वैशाख १४, २०८२ आइतबार १८:५६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।