शिक्षक आन्दोलनको रिपोर्टिङमा रहेकी पत्रकार घाइते, पानीको फोहरा लाग्दा दुवै आँखामा गम्भीर चोट

शिक्षक आन्दोलनको रिपोर्टिङमा रहेकी पत्रकार घाइते, पानीको फोहरा लाग्दा दुवै आँखामा गम्भीर चोट

काठमाडौं :  काठमाडौंको नयाँ बानेश्वरमा आइतबार दिउँसो भएको शिक्षक आन्दोलनको रिपोर्टिङमा रहेकी प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की प्रहरीले हानेको पानीको फोहराले आँखामा लग्दा गम्भीर घाइते भइन्।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहरा हानेको थियो। पानीको फोहरा सिधै पत्रकार कार्कीको अनुहारमा लाग्यो। निकै फोर्सका साथ आएको पानीले उनको दुवै आँखामा गम्भीर चोट लगायो। आँखाबाट रगत बग्न थालेपछि प्रहरीले नै उनलाई बोकेर नजिकैको सिभिल अस्पतालमा लगेको थियो।

सिभिलमा उनको उपचार सम्भव नभएपछि सामान्य उपचार गरेर उनलाई तिलगंगामा रहेको आँखा अस्पतालमा पुर्याएको थियो। तिलगंगामा पूर्याउँदा पनि उनको आँखाबाट रगत बग्न रोकिएको थिएन।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार कार्कीको आँखाभित्र रगत जमेको छ जसलाई चिकित्सकीय भाषामा हाइफिमा भनिन्छ। त्यसले उनको भिजन एकदमै कमजोर बनाएको छ। आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ भने चोटले आँखाको प्रेसर समेत बढाएको छ।

कार्कीको अवस्थाबारे बुझ्न नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहालसहितको टोली अस्पताल पुगेको थियो। टोलीलाई चिकित्सकहरूले आँखामा गम्भीर चोट लागेकाले उपचारमा समय लाग्ने जानकारी गराएका थिए।

वैशाख १४, २०८२ आइतबार १८:४४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।