‘गुरु’हरूलाई रिस उठेपछि ढुंगा बर्साए, प्रहरीले पानीको फोहराले तह लगायो

काठमाडौं : सडक कहिले गीत गाउँदै त कहिले रक्तदान गर्दै सरकारलाई आफ्नो माग पुरा गर्न दबाब दिइरहेका शिक्षकहरू आइतबार एकाएक रिसाएर निषेधित क्षेत्र तोड्नतिर लागे।
एकाएक उनीहरू बिजुलीबजारबाट नयाँबानेश्वरतिर लागे। निषेधित क्षेत्र तोड्ने प्रयासतिर लागेपछि प्रहरीले पनि शिक्षक हुन् भनेर माया गर्ने कुरा भएन, पानीको फोहराले हिर्कायो।
पानी परेर उसै त चिसो भएको काठमाडौँ, त्यसमा प्रहरीको पानीको फोहरा। अनि शिक्षकहरूको धैर्यताको बाँध टुट्यो। उनीहरू एकाएक आक्रामक बन्दै प्रहरीलाई ढुंगाले हान्न थाल्यो। धन्न प्रहरीले पनि जवाफमा टियर ग्याँसतिर लागेन।
पानीको फोहरा लागेर केही शिक्षक सडकमै ढलेका थिए। एक पत्रकार समेत घाइते भए झडपमा। शिक्षक महासंघका अनुसार प्रहरीसँगको झडपमा १५ जना बढी शिक्षक घाइते भए।
घाइते पत्रकार सविना कार्कीको आँखामा पानीको फोहरा लाग्दा रगत बग्यो। उनको तिलगंगामा रहेको आँखा अस्पतालमा उपचार भइरहेको छ।
सरकारसँग विभिन्न माग राखेर शिक्षकहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। उनीहरू निरन्तर सडक आन्दोलनमा रहँदा शिक्षामन्त्री पदबाट विद्या भट्टराइले राजीनामा नै दिइन्। एक चरणमा आन्दोलनरत प्रतिनिधि र नयाँ शिक्षामन्त्री रघुजी पन्तबीच वार्ता पनि भयो। तर सहमति हुन सकेको छैन।
महासंघका पदाधिकारीहरूले आन्दोलन निर्णायक चरणमा पुगेकाले अब एक धक्का दिन बाँकी रहेको दाबी गरेपछि शिक्षकहरू शान्तिपूर्ण रूपमा सडकमा धर्नामा बस्न छाडेर निषेधित क्षेत्र तोड्ने भन्दै प्रहरीसँग भिड्नतिर लाग्दा झडप भयो।
वैशाख १४, २०८२ आइतबार १८:०८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।