प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच भनेका गगनलाई प्रधानमन्त्री ओलीको चुनौती ‘प्रमाणित गर्नु’

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्ने दाबीको प्रतिवाद गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणित गर्न चुनौती दिए।
आफ्ना विरुद्धका अभिव्यक्तिको तत्काल प्रतिवाद गर्ने ओलीले सत्ता सहयोगी दल कांग्रेस महामन्त्रीको दाबीको प्रतिवाद गर्न झन्डै दुई साता समय लगाए।
आइतबार मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै उनले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाज शरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको दाबी गरे।
गगनले १२ दिन अगाडि काठमाडौंको एक कार्यक्रममा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भएको ढिलाइको प्रसङ्गमा ‘म यो या त्यो प्रधानमन्त्री भन्दिन तर बेडरुमसम्मै बिचौलियाहरूको पहुँच छ’ भनेका थिए।
उनले आइतबार एमाले र कांग्रेसको सहभागितामा सरकार बनेपछि स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेलामा सरकार र नेतृत्वविरुद्ध झुटा आरोप लगाउन थालिएको दाबी गरेका थिए।
‘यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन। हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भने,‘आजकाल निलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेका छन्। तिनीहरूको वास्तविक रूप लामो समय टिक्ने छैन।’
उनले कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा चिसो पानी खन्याइएको महसुस भएको टिप्पणी समेत गर्न भ्याए।
पार्टीभित्रको राजनीतिका हकमा आलोचनात्मक चेत भन्दै सरकारले गरेको राम्रो कामको पनि विरोध गर्ने गरेको भन्दै उनले आलोचनात्मक हैन विश्लेषणात्मक चेत राख्न सुझाव समेत दिए।
‘पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ। विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन,’ उनले भने।
वैशाख १४, २०८२ आइतबार १७:३९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।